घरमै हुने सुत्केरी न्यूनीकरण स्थानीय सरकारलाई ठुलो चुनौती बन्दै

जुम्ला । तातोपानी गाउँपालिका–७ र ८ भेरीखोला भौगोलिक रुपमा विकट छन् । गाउँ–गाउँ पुग्ने कच्ची सडक खनिएपनि सवारी साधन गुड्दैनन् । अहिले पनि यहाँका स्थानीयको आउजाउ पैदल नै हुने गरेको छ ।

भौगोलिक विकटताकै कारण अहिले पनि यहाँका गर्भवती महिला घरमै असुरक्षित सुत्केरी हुने गरेका छन् । भेरीखोलामा झण्डै दुई दर्जन गाउँ छन् । यस क्षेत्रको पायक पर्ने ठाउँ लामाबगरमा स्वास्थ्य चौकीमा गर्भवती महिलालाई सुरक्षित रुपमा सुत्केरी गराउनका लागि प्रसुति गृह स्थापना गरिएको छ । तर, स्वास्थ्य संस्थाको प्रसुति गृहमा न्यून सङ्ख्यामा प्रसुति हुन आउने गरेका छन् ।

भौगोलिक विकटता र खनिएका कच्ची सडकमा सार्वजनिक सवारी साधन गुड्दैनन् । घरमा बोकेर स्वास्थ्य संस्था लैजाने पुरुष व्यक्ति पनि हुँदैनन् । घरमा सुत्केरी हुनुको विकल्प नरहेको स्थानीय विष्णु शाहीले बताउनु भयो ।
उहाँले भन्नुभयो ‘घरमा भएका पुरुष सबै हाट प्रदेश गएका हुन्छन् । कोही मालपाखर (पशु चौपाया) हेर्न खर्क लेकतिर बसेका हुन्छन् । घरमा महिला बालबालिका मात्रै हुन्छौं । कसले गर्भवती महिलालाई स्वास्थ्य संस्थामा लैजाने निकै समस्या छ । भगवान भरोसा घरमै सुत्केरी हुने गरेका छौ ।’

चालु आर्थिक वर्षमा यस क्षेत्रका ३६ जना सुत्केरी भए । जसमध्ये ११ जनामात्रै स्वास्थ्य संस्थामा आएर प्रसुति भएको स्वास्थ्य चौकी प्रमुख सन्तोष मल्लले बताउनु भयो ।

‘गत वर्ष ८३ जना सुत्केरी भएकामध्ये २० जनामात्रै स्वास्थ्य संस्थामा सुत्केरी भएका हुन् । ६३ जना घरमै असुरक्षित सुत्केरी भए । यो क्षेत्रमा सुत्केरी हुनेको सङ्ख्या अत्याधिक छ । घरमै हुने सुत्केरी न्यूनिकरण गर्न खोजे पनि भएको छैन्,’ उहाँले भन्नुभयोे । भौगोलिक विकटता, गरिबी र घरमा मान्छे नहुने समस्या घरमै हुने सुत्केरीको सङ्ख्या बढेको प्रमुख मल्लको भनाइ छ ।

‘गाउँ–गाउँ पुग्ने कच्चा सडक त खनिएका छन् । खनिएका सडकमा नियमित सवारी साधन चल्दैनन् । खनिएका सडक पनि बाढी, पहिरोले भत्केका छन् । घरमै हुने सुत्केरी घटाउन यो क्षेत्रका लागि मात्रै एउटा एम्बुलेन्सको आवश्यक छ,’ उहाँले भन्नुभयोे ।

एउटै कोठाबाट धेरै सेवा प्रवाह, जोखिममा स्वास्थ्य चौकी

तातोपानी गाउँपालिका–७ लामाबगरमा रहेको स्वास्थ्य चौकी मापदण्डअनुसारको भौतिक संरचना नहुँदा एउटै कोठाबाट धेरै सेवा प्रवाह गर्नु परेको स्वास्थ्यकर्मीको गुनासो छ ।
स्वास्थ्य चौकी २०७४ मङ्सिरमा निर्माण सम्पन्न भएको भएपनि मापदण्डअनुसार नभएको प्रमुख मल्लले बताउनु भयो । ‘खोलाको किनारमा रहेको स्वास्थ्य चौकी गत दुई वर्ष आएको बाढीले कटान गरेको छ । बाढी, पहिरोको जोखिममा यो स्वास्थ्य चौकी रहेको छ,’ उहाँले भन्नुभयो ।
यो स्वास्थ्य चौकीका नौ जना स्वास्थ्यकर्मी कार्यरत छन् । गत १७ कात्तिकमा मध्य राति गएको भूकम्पले आवास गृह चर्किएको छ । त्रासैत्रासमा चर्किएको घरभित्रै स्वास्थ्यकर्मीहरु बस्दैं आएका छन् । ‘यो क्षेत्रमा घर पनि अरु छैन ।
तलमाथि खोलाको किनारमा स्वास्थ्य चौकी र आवास गृह रहेको छ । बाढी, पहिरोको जोखिम पनि उत्तिकै रहेको छ,’ स्वास्थ्य चौकी इन्चार्ज मल्लले भन्नुभयो, ‘स्वास्थ्य चौकीमा प्रसुति गृह पनि भएकोले २४ सै घण्टा ड्युटी गर्नुपर्ने हुन्छ । तर, अवस्था यस्तो हुँदा निकै चिन्तित छौं ।’

स्वास्थ्य चौकी मापदण्ड अनुसार छैन । बाढी, पहिरोको पनि उच्च जोखिममा छ । सेवा प्रवाहमा पनि असहज नै भएकोले डिपिआर बनाएर भौतिक संरचना निर्माण गर्ने पहल भइरहेको तातोपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाइले बताउनु भयो। मानदत्त रावल/इन्सेक

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.