“मेरो मन“
सधैँ गुन्गुनाउँथ्यो
सधैँ भुन्भुनाउँथ्यो
कहिले त आत्तिएर
हुन्हुनाउँथ्यो पनि ।
छन्द मिल्यो भने
म स्वयं छन्दोवद्ध कविता हुन्थेँ
कहिले अनुष्टुप हुन्थेँ
छिटो दगुर्थेँ
कहिले शिखरिणी हुँदै
अलि ढिलो दगुर्थेँ
मन्दाक्रान्ता हुन्थेँ मेसो मिल्यो भने
जीवनको छन्द नमिलेको बेला
म स्वच्छन्द कविता हुन्थेँ ।
न कविताको फेँद हुन्थ्यो
न टुप्पो भेटिन्थ्यो
न बोक्रा न गुदी, न बिउ न विधि
तान्दा तान्दा जीवनरेखा
कहिले कथा बन्थेँ, उपन्यास बन्थेँ ।
फेरि म किराना पसल बन्थेँ
जिरा हुन्थ्यो ममा
मेथी हुन्थ्यो मुग्रिलो हुन्थ्यो
खुर्सानी, मरिच र टिमुर हुन्थ्यो
सबै हुन्थ्यो तर खोजेको कुरा हुन्नथ्यो
जीवनमा कुनै रोजेको कुरा हुन्नथ्यो ।
वेग थियो आवेग थियो
राग थियो बैराग थियो
तर
न कतै साख थियो
न कसैको चाख थियो
न इनाम, न बेइनाम
न आलोचना न समालोचना
थोत्रो मोटर जस्तो
तर पनि अभिमान थियो
त्यस्तो थिएँ म ।
अहिले
मैले मलाई चिनेँ
कम्तिमा म मै हूँ
न म अरु हूँ
न अरु कोही म हुन् ।
अक्कल र सक्कल
मिल्दैन, दुर्लभ छ
दुर्लभै दुर्लभको रासमा
एउटा बेग्लै दुर्लभ भेटियो भने
ऊ मै हो
म उही हो ।
यो थाहा पाएँ ।