श्रीकृष्णलाई प्रिय भाव हुन्छ, पदार्थ होइन

श्रीकृष्ण एकपटक विदुरानीको घर जानुभयो । विदुरानी स्नानगृहमा स्नान गर्दै थिइन् । भित्रैदेखि चिच्याइन् को हो ? श्रीकृष्णले भन्नुभयो ‘‘म कृष्ण ।’’ हरक्षण श्रीकृष्णको ध्यान र नाम जपमा लीन रहिरहने विदुरानीलाई होश नै छैन । आफ्ना आराध्य देव घर आएको थाहा पाएपछि उनी अत्यन्त प्रफुल्लित भइन् । मेरै आराध्य देव आज मेरो द्वारमा ! उनका नयनमा भक्तिरुपी अश्रुको धार थियो ।

यतिकैमा श्रीकृष्णको मनमा विचार आयो यस्तो निष्पाप भक्तको हातबाट केही त ग्रहण गर्नुपर्छ । श्रीकृष्ण भन्नुहुन्छ—काकी, मलाई त बेस्सरी भोक लागेको छ । केही दिनु खानलाई । श्रीकृष्ण श्रीकृष्ण यही नाम जपमा व्यस्त विदुरानीलाई भान्सामा गई खाना पकाउने र पस्किने फुर्सद नै छैन । उनी त केवल नाम स्मरणको सागरमा पौडी खेलिरहेकी छिन् । पौडी खेल्दैगर्दा किनारामा आउने त कुरै भएन । श्रीकृष्णले थालीमा राखिएका केरा (फल) तिर आफै संकेत गर्दै भन्नुभयो काकी त्यही दिनुस् खानलाई ।

विदुरानीले केरा उठाइन्, छिलिन् अनि गुबो फ्याँकिन् छिल्का श्रीकृष्णलाई दिइन् खानलाई । श्रीकृष्णले बडो आनन्दभावले खाँदै हुनुहुन्छ । यहीबेला दुर्याेधनको सबै राजसी सुखसुविधालाई ठोक्कर मार्दै श्रीकृष्ण त मेरा घर आउनुभएछ भन्ने थाहा पाउन साथ आत्तिँदै विदूरजी घरमा प्रवेश गर्नुभयो । भित्रको दृश्य देखेर विदूर छक्क पर्दै विदुरानीलाई भन्नुहुन्छ ए विदुरानी यो के गरेको ? गुबो पाखातिर, छिल्का श्रीकृष्णलाई ! श्रीकृष्ण भन्नुहुन्छ काकाश्री जो आनन्द काकीले खुवाउनुभएको छिल्कामा छ त्यो आनन्द यो गुबोमा कहाँ हुन्थ्यो र !

श्रीकृष्णलाई मायाकृत पदार्थसँग होइन भावसित प्रेम छ । उहाँलाई भाव मन पर्दछ । यस कारण पदार्थभन्दा भाव श्रेष्ठ हुन्छ । तामझामको कर्मकाण्डभन्दा भावाश्रित समर्पण नै श्रेष्ठकर हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.