कञ्चनपुर । छात्राको स्वास्थ्य र शैक्षिकस्तरमा सुधार ल्याउन र नियमित पठनपाठन सहज बनाउने उद्धेश्यले सरकारले विद्यालयमा उपलब्ध गराउँदै आएको सेनेटरीप्याड गुणस्तरहिन भएकोले आफूहरुले समस्या भोग्नु परेको जिल्लास्थित सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुले गुनासो गरेका छन् ।
विद्यालयमा वितरण गरिने सेनेटरीप्याड गुणस्तरयुक्त नभएकोले त्यसको प्रयोगबाट आफूहरुमा थप स्वास्थ्य समस्या उत्पन्न हुनेगरेको बेदकोट नगरपालिकास्थित सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको गुनासो छ ।
कक्षा नौमा अध्ययनरत छात्रा सरस्वती रैसालले विद्यालयमा उपलब्ध गराइदै आएको सेनेटरीप्याड पसलमा पाइने सेनेटरीप्याड भन्दा गणस्तरहिन, आकार सानो र रगत बाहिर छिट्टै लिकेज हुने खालको रहेको बताउनु भयो ।
भुवनेश्वरी मावि कक्षा ९ मा अध्ययनरत गीता जोशीले विद्यालयमा दिइने सेनेटरी प्याडहरु सानो आकार भएको र लम्बाइचौडाइ पनि कम भएकोले प्रयोग गर्न समस्या भएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘विद्यालयले उपलब्ध गराउने सेनेटरी प्याडले रगत नै सोस्दैन । प्रयोग गरेको १० मिनेटमै चेन्ज गर्नु पर्ने हुन्छ । प्याड चेन्ज गरेर बस्नु की पढ्नु ? समस्या छ ।’
उदयदेव मावि कक्षा नौमा अध्ययनरत सीता विष्टले पनि कामै नलाग्ने प्याड विद्यालयले दिने गरेको गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो–‘ विद्यालयले दिने गरेको प्याडबाट सबै रगत लिक हुन्छ । प्याडको मध्यभागबाट रगत सोसेरभित्र जम्मा हुनु पर्ने हो । तर, एक थोपा रगत पनि प्याडमा रोकिदैन् । सबै बाहिर बग्छ । सुरुमा विद्यालयले दिएका प्याड प्रयोग गर्थे । ती प्याडले रगत नरोकिएपछि अहिले घरबाट प्याड लिएर प्रयोग गर्ने गर्छु । विद्यालयले उपलब्ध गराएका प्याड प्रयोग गर्दा धेरैलाई चिलाउने समस्या देखिएको छ । ’
महिला अधिकारकर्मी भगवती थापाले गुणस्तरहिन सेनेटरी प्याड विद्यालयमा दिइनु, भण्डारण लगायत प्रयोग गरिएका प्याडको व्यवस्थापन नहुँनु पनि चुनौतीका रुपमा देखापरेकोले सम्बन्धीत पक्षले तत्काल समाधान गर्नु पर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘छात्राहरूले प्रयोग गरेका प्याड जताततै फालिएका छन् ।स्कुलको हाताभित्र प्याडहरु जताततै भेटिन्छन् । छात्राहरूमा अनुशासनको कमी पनि देखिएको छ । विद्यालयले व्यवस्थापन गर्न सकेको देखिदैन् ।’
सरकारले २०७६ सालमा सेनेटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि समेत लागु गरेको छ । त्यसले सेनेटरी प्याड वितरणको जिम्मेवारी स्थानीय तहलाई प्रदान गर्नुका साथै प्याडको न्यूनतम मापदण्ड समेत तोकेको छ । प्याडको न्यूनतम लम्बाई २ सय ४० मिलिमिटर, चौडाई ६० देखि ७५ मिलिमिटर, मोटाई १५ मिलिमिटरलगायतका मापदण्ड तोकिएको छ ।
मापडण्ड विपरितका सेनेटरीप्याड वितरण गरिएका कारण रगत नै नसोस्ने र शरीर चिलाउने समस्या भएको छात्राहरुको गुनासो छ ।
भुवनेश्वरी माध्यमिक विद्यालयका महिला शिक्षक तथा फोकल पर्शन माया भट्टले सेनेटरीप्याडको गुणस्तर तथा प्रयोगसम्बन्धी लिइएको तालिममा प्याडको न्यूनतम लम्बाई, मोटाईका बारेमा जानकारी गराए अनुसारका प्याडहरु विद्यालयमा नपठाई गुणस्तरहिन प्याडहरु वितरण गरिएकोले समस्या भएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘वितरण गरिएका सेनेटरीप्याड गुणस्तरहिन छन् । पातलो र सानो आकारमा भएका कारण प्रयोग गर्दा रगत नै नसोस्ने र रगत लिकेज हुनेगरेको छात्राहरुको गुनासो आउने गरेको छ । गुणस्तरहित सेनेटरीप्याड विद्यालयमा उपलब्ध गराइएकोले हाल छात्राहरु सेनेटरीप्याड घरबाटै लिएर आउने गरेका छन् ।’
उदयदेव मावि, सुन्दरपुृरकी महिला शिक्षक देवकी भट्टले गाउँपालिकाले उपलब्ध गराएको सेनेटरी प्याड गुणस्तरहीन भएको र आकार पनि सानो भएको गुनासो गर्दै भन्नु भयो, “ती प्याड प्रयोग गर्दा कतिपय छात्रालाई एलर्जी भयो, गुणस्तरहीन प्याड खरिद गरी विद्यालयमा पठाइएको छ । आपतकालिन अवस्थामा विद्यालयले उपलब्ध गराइएका प्याड छात्राले प्रयोग गर्ने गरेको भए पनि घरपुगेर आफैले खदिर गरेका प्याडहरु प्रयोग गर्ने गरेका छन् ।
घटाल माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारीले सेनेटरीप्याड कार्यविधिमा तोकिएको स्पेसिफिकेसन उपयुक्त नभएको, टेण्डरमा सेटिङ हुने गरेको, खरिद प्रक्रिया नै त्रुटिपूर्ण भएको र त्यसको गुणस्तर मापन गर्ने निकाय स्पष्ट नभएको बताउनु भयो ।
बेदकोट नगरपालिकास्थित भुवनेश्वरी मावि, सिसैयाका स्थानीय अभिभावक प्रकाश केसीले मापदण्ड विपरित सेनेटरीप्याड गरिद गर्ने व्याक्ति वा निकायलाई कारबाही गरिनु पर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘यसको अनुगमन तथा अनुसन्धान गरिनु पर्दछ । गुणस्तरहीन प्याड खरिद गर्नेलाई कारबाही गरिनु पर्दछ । गुणस्तरहिन प्याडका कारण छात्राहरुको स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ ।’
संघीय सरकारको कार्यक्रम अनुरूप स्थानीय तहमा बजेट आउने र स्थानीय तहले टेण्डर प्रक्रियामा खरिद गरी विद्यालयलाई दिने गरेको बेदकोट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मञ्जु थापाले बताउनु भयो ।
टेण्डर अनुसार खरिद गरिएका सेनेटरीप्याडहरु सानो आकार र पातलो देखिएको भए पनि यसको गुणस्तरका सन्दर्भमा लिखित रुपमा कहिकतैबाट उजुरी नआएकोले कानुनी प्रक्रियामा जान सहज नभएको तर कहिकतैबाट लिखित उजुरी आएमा कानुनी प्रक्रियामा जान सकिने उहाँले बताउनु भयो ।
विद्यालयहरुमा प्याडसँगै डिस्पोजल मेसिन पनि प्रदान गरिएको र के कति कारणले विद्यालयहरुले प्रयोगमा नल्याएका हुन? त्यसको छानविन गरिने शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख थापाले बताउनु भयो ।
शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख दुर्गा बोहराले सेनेटरीप्याड गुणस्तरहिन भएको भनेर आफूकहाँ अहिलेसम्म गुनासो नआएको र यस बारे स्थानीय तहलाई फोन गरी जानकारी लिने बताउनु भयो ।
लिली कुँवर/इन्सेक