logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

मर्चवार क्षेत्रमा महदेई सबस्टेसन निर्माण तीव्र, ४० प्रतिशत काम सम्पन्न

मर्चवार क्षेत्रमा महदेई सबस्टेसन निर्माण तीव्र, ४० प्रतिशत काम सम्पन्न


  • सोमबार, माघ १४ २०८१
  • 897
    SHARES

    लोकसारथि, माघ १४ । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित मर्चवार क्षेत्रमा निर्माण भइरहेको महदेई विद्युत् सबस्टेसनको काम तीव्र गतिमा अगाडि बढिरहेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार सबस्टेसन निर्माणको ४० प्रतिशत काम पूरा भइसकेको छ।

    तीनवटा स्थानीय तहलाई लक्षित गरी निर्माण भइरहेको यो सबस्टेसन सम्पन्न भएपछि मर्चवार क्षेत्रको विद्युत् समस्यामा स्थायी सुधार आउने अपेक्षा गरिएको छ।

    एक वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य
    नेपाल विद्युत् प्राधिकरणका इन्जिनियर जगदिशराज बरालले सिभिल संरचनाको ३५ प्रतिशत र विद्युतीकरणको ४० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए। परियोजनाको बाँकी काम एक वर्षभित्र सम्पन्न गर्न निर्माण कार्य तीव्र गतिमा भइरहेको उनले बताए।

    ‘निर्माण कम्पनीसँग फागुनमा सम्झौता भएको थियो,’ इन्जिनियर बरालले भने, ‘सम्झौतामा तोकिएको म्याद समाप्त हुन लागेको भए पनि पुनः म्याद थप गरेर आगामी एक वर्षभित्र सबस्टेसन सञ्चालनमा ल्याउने योजना छ।’

    उनका अनुसार साइटमा माटो परीक्षण, कागजी प्रक्रिया, र निर्माण सामग्रीको अभावका कारण केही ढिलाइ भएको भए पनि हाल आवश्यक सामग्रीको व्यवस्थापन भइसकेको र काम तीव्र गतिमा अघि बढिरहेको छ।

    विद्युतीकरण कार्य तीव्र
    निर्माण कम्पनीका योजना प्रबन्धक मुकुल सिंहले सबस्टेसनको डिजाइनमा ढिलाइ भएकाले समयमै निर्माण कार्य पूरा हुन नसकेको बताए। हाल ४० जनाको टोलीले तीव्र गतिमा काम गरिरहेको र अहिलेसम्म ८५० वटा विद्युत् पोल जडान गरिसकेको जानकारी उनले दिए।

    उनका अनुसार अब पोलमा तार तान्ने कार्य सुरु गरिनेछ। तार र पोलको व्यवस्थापनपछि ट्रान्सफर्मर जडान गरी लो भोल्टेज र विद्युत् कटौतीको समस्या समाधान गरिनेछ।

    स्थानीय विकासमा योगदान
    मर्चवार क्षेत्रका उपभोक्ताहरूले बारम्बार बत्ती जाने र लाइन ट्रिप हुने समस्याका कारण दैनिक जीवन प्रभावित भएको गुनासो गर्दै आएका छन्। सम्मरीमाई गाउँपालिका–७ का वडाध्यक्ष राधेश्याम कुर्मीले महदेई सबस्टेसन निर्माणपछि यस्तो समस्या अन्त्य हुने विश्वास व्यक्त गरे।

    लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बानियाँका अनुसार मर्चवार क्षेत्रका सम्मरीमाई, कोटहीमाई, र मर्चवार गाउँपालिकामा सबस्टेसन निर्माण भएपछि विकासको नयाँ युग सुरु हुनेछ।

    महदेई सबस्टेसनले मर्चवार क्षेत्रको ऊर्जा आपूर्तिमा स्थायित्व ल्याउन मात्र होइन, समग्र आर्थिक र सामाजिक विकासमा पनि ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    प्रकाशित : सोमबार, १४ माघ २०८१ , ०५:०८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend