logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

रघुगङ्गामा अनाथ तथा विपन्न विद्यार्थीका लागि सात लाखको अक्षयकोष स्थापना

रघुगङ्गामा अनाथ तथा विपन्न विद्यार्थीका लागि सात लाखको अक्षयकोष स्थापना


  • मंगलबार, माघ २२ २०८१
  • 1.2K
    SHARES

    लोकसारथि, माघ २२, २०८१ । रघुगङ्गा गाउँपालिका–२ र ३ अन्तर्गत राखु भगवती र पिप्ले क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत अनाथ तथा विपन्न छात्रछात्राका लागि रु सात लाखको अक्षयकोष स्थापना गरिएको छ।

    रघुगङ्गा गाउँपालिका–२ भगवती घर भई हाल बेलायतमा बसोबास गर्दै आएका समाजसेवी खिमबहादुर क्षेत्रीले यहाँका १० वटा सामुदायिक विद्यालयहरूमा उक्त अक्षयकोष स्थापना गरेका हुन्। कोषको ब्याज रकमबाट वार्षिक रुपमा अनाथ तथा विपन्न छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गरिने छ।

    अक्षयकोष अन्तर्गत माध्यमिक विद्यालयहरू ज्ञानोदय मावि, रघुगङ्गा मावि, मुक्तिधाम मावि, र कक्षा ८ सम्म पठनपाठन हुने सिद्धार्थ ज्ञानमन्दिरमा एक/एक लाख रुपैयाँका दरले कोष स्थापना गरिएको छ। साथै, अमरसिंह आधारभूत, अन्नपूर्ण आधारभूत, देउराली आधारभूत, र धौलागिरि आधारभूत विद्यालयहरूमा ५०/५० हजार रुपैयाँ राशिको अक्षयकोष राखिएको छ।

    क्षेत्रीले आइतबार गाउँपालिकाको केन्द्र मौवाफाँटस्थित प्रभु बैंकमार्फत सम्बन्धित विद्यालयहरूको मुद्दति खातामा अक्षयकोष रकम हस्तान्तरण गरेका हुन्। सो अवसरमा क्षेत्री र विद्यालयका प्रधानाध्यापकहरूबीच कोष परिचालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ।

    क्षेत्रीले ग्रामीण क्षेत्रमा अध्ययनरत अनाथ तथा विपन्न विद्यार्थीहरूको शिक्षामा सहज पहुँच सुनिश्चित गर्न कोष स्थापना गरिएको बताए। यसअघि पनि उनले ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षाका लागि रु ५० हजारको मुद्दति कोष स्थापना गरिसकेका छन्।

    यस कार्यले रघुगङ्गा क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षामा पहुँच पुर्‍याउन उल्लेखनीय योगदान पुर्‍याउने विश्वास गरिएको छ।

    प्रकाशित : मंगलबार, २२ माघ २०८१ , ०७:१४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend