logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

सामाजिक सञ्जाल नियमन विधेयकलाई मानव अधिकार तथा शान्ति समाजको विरोध, देशव्यापी अभियानको घोषणा

सामाजिक सञ्जाल नियमन विधेयकलाई मानव अधिकार तथा शान्ति समाजको विरोध, देशव्यापी अभियानको घोषणा


  • बुधबार, माघ २३ २०८१
  • 1.7K
    SHARES

    लोकसारथि, माघ २३ । राष्ट्रिय सभामा पेस भएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकलाई मानव अधिकार तथा शान्ति समाजले ‘प्रतिगामी विधेयक’को संज्ञा दिएको छ। बुधबार सभापति रेनुका पौडेलको अध्यक्षतामा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले उक्त विधेयकका केही प्रावधान संविधान प्रदत्त मौलिक हक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत दुरुपयोग हुन सक्ने खतरा रहेको जनाउँदै सोको विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

    समितिले जारी गरेको विज्ञप्तिमा सूचना प्रविधि र सामाजिक सञ्जालको आवश्यकता, महत्त्व, र उपयोगिता चुलिँदै गएको विश्वव्यापी सन्दर्भमा यसको प्रयोगलाई आम नागरिकको पहुँचमा पुर्‍याउन र सहज तुल्याउन प्रोत्साहन गर्नुको सट्टा विधेयकले निरुत्साहित तुल्याउने खतराप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। समाजले सरोकारवालाहरूसँग व्यापक परामर्श र सहमति पश्चात् मात्र विधेयक अघि बढाउन आग्रहसमेत गरेको छ।

    यसैबीच, समाजको केन्द्रीय कार्यसमितिमा ६ जना नयाँ सदस्य मनोनीत भएका छन्। ती सदस्यहरूमा नम्रता खरेल, रुपा पुडासैनी, सीता यरी, रोजिना विष्ट, रत्ना कँडेल, र मणिराम दाहाल रहेका छन्।

    यस्तै, अनुशासन समितिको संयोजकमा पूर्व वरिष्ठ उपसभापति कृष्णबहादुर रावल नियुक्त भएका छन् भने सदस्यहरूमा दिलबहादुर कार्की र प्रतिमा महतो मनोनीत भएका छन्। सदस्यता अपिल समितिको संयोजकमा पूर्व कोषाध्यक्ष किरण ढकाल र सदस्यहरूमा खिम (कृष्ण) भट्टराई तथा सानु लामा मनोनीत गरिएको समाजको विज्ञप्तिमा उल्लेख छ।

    प्रकाशित : बुधबार, २३ माघ २०८१ , ०६:४४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend