logo

सोमबार, ११ साउन २०८३

सोमबार, साउन ११ २०८३

अङ्ग्रेजी विषयक अनुसन्धान निष्कर्ष प्रसार कार्यक्रम सम्पन्न

अङ्ग्रेजी विषयक अनुसन्धान निष्कर्ष प्रसार कार्यक्रम सम्पन्न

‘लुम्बिनी प्रदेशमा अङ्ग्रेजी शिक्षकहरूको कक्षाकोठा अभ्यासको मूल्याङ्कन’ विषयक अध्ययन


  • आइतबार, साउन १० २०८३
  • 611
    SHARES

    विष्णुप्रसाद भण्डारी, बुटवल । लुम्बिनी प्रदेशका विभिन्न स्थानहरुमा सञ्चालित विद्यालयहरूमा गरिएको एक अनुसन्धानले अङ्ग्रेजी अध्यापन अभ्यास क्रमशः सुधार हुँदै गएको देखाएको छ । त्रिभुवन विश्वविद्यालयको रेक्टर कार्यालयअन्तर्गत अनुसन्धान समन्वय तथा विकास परिषद् (आरसीडीसी) को वित्तीय सहायतामा सञ्चालित राष्ट्रिय प्राथमिकता प्राप्त अनुसन्धान परियोजनाअन्तर्गत गरिएको ‘लुम्बिनी प्रदेशमा अङ्ग्रेजी शिक्षकहरूको कक्षाकोठा अभ्यासको मूल्याङ्कन’ विषयक अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । अङ्ग्रेजी शिक्षण अभ्यासलाई थप परिणाममुखी बनाउनका निम्ति शिक्षक तालिमलाई आवश्यकताअनुसार थप प्रभावकारी बनाइनुपर्ने, सूचना तथा सञ्चार प्रविधि (आईसीटी) तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी सिपलाई प्राथमिकता साथ तालिममा समावेश गर्नुपर्ने अध्ययनले सुझाएको छ ।

    बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख उपप्रा.डा.अरुणकुमार क्षेत्री प्रमुख अनुसन्धानकर्ता तथा क्याम्पसका उपप्रा.डा.तिलक भुसाल सह–अनुसन्धानकर्ता रहेको टोलीले लुम्बिनी प्रदेशका दाङ, कपिलवस्तु, पाल्पा र रुपन्देही गरी ४ जिल्लाका १६ विद्यालयमा अध्ययन गरेको थियो । प्रत्येक जिल्लामा चार विद्यालयहरुलाई अध्ययनमा समावेश गरिएको थियो । उक्त अध्ययनमा पहाडी जिल्ला अन्तर्गत दाङ र पाल्पा तथा तराईका जिल्ला अन्तर्गत कपिलवस्तु र रुपन्देही रहेका छन् । उक्त अध्ययन संस्थागततर्फका विद्यालयमा सम्पन्न गरिएको थियो ।


    शुक्रबार आयोजना गरिएको अनुसन्धान निष्कर्ष प्रसार कार्यक्रममा प्रमुख अनुसन्धानकर्ता क्षेत्रीले अध्ययनमा कक्षा ११ र १२ मा अध्ययनरत ४०० विद्यार्थी, १६ जना अङ्ग्रेजी शिक्षक, १६ जना प्रधानाध्यापक, चार जना शिक्षक प्रशिक्षक केन्द्रित समूह छलफल गरिएको र कक्षा अवलोकनमा सहभागी करिब ३० जना शिक्षक, भाषा शिक्षण विज्ञहरुको समेत सहभागिता रहेको जानकारी दिए । २०७९ चैतमा अनुसन्धान सम्झौता भई ०८२ मङ्सिरसम्म सञ्चालन गरिएको उनले बताए ।
    अध्ययनले अङ्ग्रेजी शिक्षकहरूद्वारा सञ्चालित कक्षाकोठा अभ्यास कार्य पछिल्ला वर्षहरूमा सकारात्मक रूपले परिवर्तन भएको देखाएको छ । शिक्षकहरूले पाठ योजना बनाएर कक्षामा प्रवेश गर्ने, शिक्षण सामग्री तथा सूचना–सञ्चार प्रविधिको प्रयोग गर्ने र कतिपय विद्यालयमा पावरप्वाइन्ट प्रोजेक्टरमार्फत पढाउने अभ्यास बढेको पाइएको उनले बताए । शिक्षकहरू आफैँले आफ्नो शिक्षण सिपको मूल्याङ्कन गर्ने, तालिम, गोष्ठी, कार्यशाला तथा सम्मेलनमा सहभागी हुने र नयाँ शिक्षण विधि सिक्ने प्रवृत्ति पनि बढेको अध्ययनले पुष्टि गरेको छ ।

    अनुसन्धानमा शिक्षक तालिमले उनीहरूलाई आफ्नो भूमिका र जिम्मेवारीप्रति सचेत बनाउनुका साथै आत्मविश्वास, प्रतिबद्धता र उत्प्रेरणा बढाउन महत्वपूर्ण योगदान दिएको उल्लेख छ । तालिमपछि शिक्षकहरूको शिक्षण–सिकाइप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको र नयाँ प्रविधि तथा विधि अपनाउने अभ्यास विस्तार भइरहेको अध्ययनको निष्कर्ष छ ।

    यद्यपि, सबै शिक्षकमा तालिमको प्रभाव र सहभागिता समान रूपमा नदेखिएको अध्ययनले जनाएको छ । केही शिक्षकले विद्यालयको वातावरणलाई कारण देखाउँदै तालिममा सिकेका सिप व्यवहारमा लागु गर्न नसकेको वा गर्न नचाहेको पाइएको प्रमुख अनुसन्धानकर्ता क्षेत्रीले बताए । तालिममा सिकेका ज्ञान र सिपलाई वास्तविक कक्षाकोठामा प्रयोग गर्ने वातावरण सबै विद्यालयमा अनुकूल नहुँदा त्यसको प्रभाव दूरगामी हुन नसकेको उनको भनाइ छ ।

    यसैगरी सह–अनुसन्धानकर्ता डा. भुसालले समग्रमा अङ्ग्रेजी भाषा शिक्षणका गतिविधि र कक्षाकोठा अभ्यासमा सुधार भइरहेको उल्लेख गर्दै भविष्यमा नेपालमा अङ्ग्रेजी भाषा शिक्षणको अवस्था थप परिष्कृत हुँदै जाने विश्वास व्यक्त गरे । अनुसन्धान टोलीले शिक्षक तालिमको वर्तमान प्रणालीमा सुधार आवश्यक रहेको जनाएको छ । अहिले शिक्षकलाई तालिममा पठाउँदा उनीहरूको आवश्यकता वा क्षमताभन्दा पनि वरिष्ठता वा प्रधानाध्यापकको सिफारिस केन्द्रित यो प्रणाली प्रभावकारी नभएको अध्ययनले उल्लेख गरेको छ । समान आवश्यकता भएका शिक्षकलाई छनोट गरी आवश्यकतामा आधारित तालिम सञ्चालन गर्नुपर्ने अध्ययनले प्रष्टाएको छ ।

    त्यस्तै, शिक्षक तालिमका मोडेल परिमार्जन गरी सबै अङ्ग्रेजी शिक्षकमा आधारभूत सञ्चार क्षमता विकास गर्नुपर्ने, सूचना तथा सञ्चार प्रविधिसँगै अङ्ग्रेजी शिक्षण–सिकाइमा कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगसम्बन्धी सिपलाई पनि तालिममा समावेश गर्नुपर्ने अध्ययनले सिफारिस गरेको छ ।
    कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका अनुसन्धान निर्देशक प्रा.डा. ईश्वरी कोइरालाले अनुसन्धानबिनाको पढाइले मात्र शिक्षकलाई नपुग्ने भन्दै प्रत्येक दिन अनुसन्धानमुखी बन्नुपर्ने अनिवार्यतालाई औँल्याएका थिए । अनुसन्धान विशेषज्ञ प्रा.डा. ऋषि रिजालले प्रविधिको विकाससँगै सूचनाका स्रोतहरु पनि नवप्रवर्तन शैलीमा प्रविष्ट हुँदै गएको बताउँदै कक्षाकोठालाई पनि समयअनुसार प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । शिक्षकहरुलाई आवश्यकताअनुसारको तालिम प्रदान गर्न नसक्दा शिक्षाको अभीष्ट प्राप्त हुन नसकेको उनको भनाइ थियो ।

    कार्यक्रममा बोल्दै रिसर्च म्यानेजमेन्ट सेलका निर्देशक उपप्रा. डा. शालिकराम पौडेल, प्रा.डा. भोजराज कडेरिया, उपप्रा. डा.दुर्गा भुसाल, उपप्राध्यापक कमला केसी, उपप्रा. डा. प्रकाश पौडेललगायतले उक्त अनुसन्धानको निष्कर्ष तथा सुझाव नीति निर्माता, पाठ्यक्रम विकासकर्ता, शिक्षक तथा अनुसन्धानकर्ताका लागि नेपालको अङ्ग्रेजी भाषा शिक्षण प्रणाली सुधार गर्न उपयोगी आधार बन्न सक्ने विश्वास व्यक्त गरे । अनुसन्धानको तथ्याङ्क सङ्कलनमा प्राध्यापकद्वय बाबुराम गैरै र कृष्णप्रसाद भट्टराईले समेत सहजीकरण गरेका थिए । कार्यक्रम डा. क्षेत्रीको अध्यक्षता र डा. तिलक भुसालकोे सञ्चालनमा सम्पन्न भएको थियो ।
    दुई वर्ष आठ महिनाको लामो उक्त अनुसन्धानबाट प्राप्त महत्वपूर्ण निष्कर्षलाई परिवर्तित सन्दर्भमा उपयोगी सामग्रीका रूपमा सम्बन्धित निकाय तथा आगामी शिक्षा ऐनमा समेत नीति निर्माताहरुले ग्रहण गर्न सके अनुसन्धानको सार्थकता ठहरिने कार्यक्रमका वक्ताहरूले बताएका थिए ।

     

    प्रकाशित : आइतबार, १० साउन २०८३ , ०८:४५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend