५०० भन्दा बढी महिलालाई रोजगारी दिने लक्ष्य

लोकसारथि, २८ फागुन । गत आर्थिक वर्षमा नगरपालिकाले एक सयभन्दा बढी कर्मशील महिला उद्यमी उत्पादन गरी मकैको पोस्कर र थाकलको पातबाट टोपी र झोला निर्माण गरेको थियो। यस वर्ष भने ५ सयभन्दा बढीलाई रोजगारी दिने लक्ष्य राखिएको नगरप्रमुख झविलाल थापाले जानकारी दिए। उनले कर्मशील रोजगार कार्यक्रममार्फत स्वरोजगार सिर्जना गर्दै आत्मनिर्भर नगर निर्माण गर्ने लक्ष्य रहेको बताए।

मकैको पोस्कर र थाकलको पातबाट हस्तकला सामग्री निर्माण

भूमिकास्थान नगरपालिकाले प्राकृतिक रेसाजन्य वनस्पति थाकलको पात तथा मकैको पोस्करबाट हस्तकला सामग्री उत्पादनलाई व्यावसायिक रूपमा अगाडि बढाएको छ। हाइब्रिड जातको मकैको पोस्कर हस्तकला सामग्री उत्पादनका लागि उपयोगी नहुने भएकाले नगरपालिकाले बाँझो जमिनमा विशेष बिउ उत्पादन गरेर आत्मनिर्भरता हासिल गरेको नगरपालिकाका योजना अधिकृत हरिश्चन्द्र भुसालले बताए।

नगर उपप्रमुख बालकृष्ण बञ्जाडेका अनुसार, टोपी र झोलाको बजारीकरणमा कुनै समस्या छैन। काठमाडौँस्थित ओम राज श्री मल्टी एग्रो कम्पनीले गत वर्ष तालिम लिएकी भूमिकास्थान–३ की लीला विकलाई निरन्तर उत्पादनमा संलग्न रहँदै आएको भन्दै ३० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ।

महिलाहरूको उद्यमशीलता र निर्यात

बाँझो जग्गा खनेर गहत, प्याज तथा अन्य तरकारी खेती गर्दै आएकी महिलाहरूले मकैको पोस्कर र थाकलको पातबाट बनेका टोपी र झोला विदेश निर्यात गर्न थालेपछि उनीहरू थप उत्साहित भएका छन्। स्वरोजगार महिलाहरूले उत्पादन गरेका सामग्रीहरू स्थानीय बजारसँगै अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्न थालेका छन्।

१० वडामा १०/१० जनाको टोली बनाएर तालिम

भूमिकास्थान नगरपालिकाले १० वटै वडामा १०/१० जनाको टोली निर्माण गरी महिलालाई तालिम दिएको प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले जानकारी दिए। उनले भने, “हामीले मकैको पोस्कर र थाकलको पातबाट झोला र टोपी बनाउन सिकाउने तालिम दिएका थियौं। अहिले यो कार्यक्रम प्रभावकारी बनेको छ।”

‘कर्मशील जनशक्ति रोजगार कार्यक्रम–२०८१’ लागू

नगरपालिकाले कार्यक्रमलाई कानुनी रूप दिन ‘कर्मशील जनशक्ति रोजगार कार्यक्रम–२०८१’ लागू गरेको कम्प्युटर अधिकृत शेषकान्त घिमिरेले जानकारी दिए। यस प्रयासलाई मल्टी एग्रो प्रालिले सघाइरहेको छ। कम्पनीले तालिम पूरा गरेका महिलाहरूबाट प्रति क्विन्टल १५ हजार रुपैयाँको दरले मकैको पोस्कर खरिद गरिरहेको छ। पालिकाले उत्पादन गरिएको झोला र टोपीको बजारीकरणसमेत गरिदिने व्यवस्था मिलाएपछि महिलाहरू लाखौं रुपैयाँ कमाउने अवसर पाएका छन्

दैनिक ६६८ रुपैयाँ ज्यालादारी र बाँझो जमिन जोत्ने अभियान

नगरपालिकाले काम सिकाएका महिलाहरूलाई बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म रोजगार दिने व्यवस्था मिलाएको छ। प्रत्येक महिलालाई दैनिक ६६८ रुपैयाँ ज्याला दिने गरिएको छ। साथै, नगरपालिकाले बेरोजगारी समस्या अन्त्य गर्न बाँझो जमिन जोत्ने अभियान पनि सुरु गरेको छ।

महिलाहरूको भविष्य उज्यालो

भूमिकास्थान नगरपालिकाले रोजगारी सिर्जना, आम्दानी वृद्धि र स्थानीय स्तरमै आत्मनिर्भरता ल्याउने यो अभियानमार्फत महिला उद्यमशीलताको ढोका खोलेको छ। मकैको पोस्कर तथा थाकलको पातबाट बनेका हस्तकला सामग्रीहरू व्यवसायिक रूपमा सफल हुन थालेपछि महिलाहरू स्वरोजगार बन्दै गएका छन्।

यस कार्यक्रमले भूमिकास्थान नगरपालिकालाई आत्मनिर्भर नगरको रूपमा स्थापित गर्दै महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.