logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

चार महिनादेखि बेपत्ता श्रीमान खोज्दै पवित्रा गुप्ता : “कमसेकम जिउँदो छन् भन्ने थाहा भए मन ढुक्क हुन्थ्यो”

चार महिनादेखि बेपत्ता श्रीमान खोज्दै पवित्रा गुप्ता : “कमसेकम जिउँदो छन् भन्ने थाहा भए मन ढुक्क हुन्थ्यो”


  • आइतबार, चैत्र १० २०८१
  • 2K
    SHARES

    राजु विके, तिलोत्तमा, १० चैत। रूपन्देहीको तिलोत्तमा नगरपालिका-६, क्याम्पसमार्ग निवासी गंगा गुप्ता चार महिनादेखि बेपत्ता छन्। ४५ वर्षीय गंगा गत चार महिना अघि पोखरा जान्छु भन्दै निस्किएका थिए, तर त्यसयता कुनै सम्पर्कमा आएका छैनन्। श्रीमान बेपत्ता भएपछि उनकी श्रीमती पवित्रा गुप्ता निरन्तर खोजीमा छन्। उनले विभिन्न ठाउँमा सोधपुछ गरेकी छिन्, प्रहरीमा निवेदन दिएकी छिन्, तर अहिलेसम्म श्रीमानको अत्तोपत्तो छैन।

    “मिडियाको ढोका ढक्ढक्याउनु पर्ने दिन आउला भनेर सोचेकी थिइनँ। श्रीमान बेपत्ता भएको चार महिना भयो, कतैबाट पनि खबर छैन। यदि उहाँ जिउँदै हुनुहुन्छ भने कमसेकम खबर मात्र पठाइदिनुस्। म केही माग्दिनँ, उहाँको खुशीका लागि जे पनि गर्न तयार छु,” पवित्राले भक्कानिँदै भनिन्।

    बेपत्ताको रहस्यमय पृष्ठभूमि

    पवित्राका अनुसार उनका श्रीमान गंगा गुप्ता पेशाले गाडी चालक हुन्। उनी तिलोत्तमा नगरपालिकाको शंकरनगरका एक बासिन्दाको निजी कार चलाउँथे। साहुले कहिले बिहान ४ बजे, कहिले रातको १२ बजे वा १ बजे फोन गरेर बोलाउँथे। उनी श्रीमतीलाई केही नबोलिकन घरबाट निस्कन्थे। यसरी अनियमित समयमा बोलाइने र अचानक बेपत्ता हुने क्रमबीच कुनै गम्भीर रहस्य लुकेको हुन सक्ने पवित्राले आशंका व्यक्त गरेकी छिन्।

    पवित्राले आफूलाई श्रीमानकै मोबाइल नम्बर थाहा नभएको बताइन्। उनले धेरै पटक नम्बर सोध्दा पनि गंगाले कहिल्यै बताउन चाहेनन्। “अब कसरी सम्पर्क गरूँ? उहाँको फोन नम्बरसम्म थाहा छैन।” प्रहरीमा निवेदन चढाइसकेको, खोजी कार्य भइरहेको बताउँछिन् पवित्रा ।

    परिवारको प्रतिक्रिया : ‘हेराउनीकहाँ जा, झारफुक गर्नेकहाँ सोध’

    गंगाका दाजुभाइ र बहिनीहरूसँग सोधपुछ गर्दा कसैले पनि कुनै जानकारी दिन चाहेनन्। उल्टै “हेराउनीकहाँ जा, झारफुक गर्नेकहाँ सोध” भन्ने प्रतिक्रिया मात्र दिए। यस्तो उदासीन व्यवहारले पवित्रालाई थप पीडा दिएको छ।

    गंगाका बाबुआमा विवाह हुनुअघि नै बितिसकेका थिए। पवित्रा ‘कहार’ समुदायकी छोरी हुन्, जसका कारण विवाहपछि श्रीमानको परिवारले उनलाई कहिल्यै माया नगरेको उनले बताइन्।

    कमाइको हिसाब : श्रीमतीलाई नदिने, घरको सबै खर्च आफैंले ब्यहोर्ने

    गंगा गुप्ताले आफ्नो कमाइ कहिल्यै श्रीमतीलाई दिँदैनथे। श्रीमानले आफूलाई घर बाहिर काम गर्न पनि रोक लगाएको बताउँछिन् उनी।

    “विवाह हुनुअघि पार्लर सिकेकी थिएँ, काम गर्थें। तर उहाँले ‘बेइज्जती हुने काम नगर्नू’ भन्दै रोक्नुभयो। शक्ति फूड कम्पनीमा जागिर खान थालेकी थिएँ, त्यहाँ पनि काम गर्न दिएनन्। अहिले एक्लै के नै गर्न सक्छु र?”

    “फर्किएर आउनुहोस्, जे भन्नुहुन्छ म त्यही गर्छु”

    पवित्रा गुप्ताले श्रीमानले यदि कुनै महिलासँग सम्बन्ध राख्नुभएको भए पनि आफूलाई खुलस्त भन्न आग्रह गरेकी छिन्। उनले आँसु झार्दै भनिन् :

    “यदि उहाँलाई मेरो साथ मन परिरहेको छैन भने खुला रुपमा भन्नुस्। म तपाईंको खुशीका लागि जे पनि गर्न तयार छु। यदि डिभोर्स नै गर्न चाहनुहुन्छ भने पनि हुन्छ। तर, कमसेकम जिउँदै हुनुहुन्छ भन्ने जानकारी त दिनुहोस्। यो अन्योलमा जिउन सक्दिनँ।”

    चार महिनासम्म श्रीमानको कुनै खबर नआउँदा उनले भोक, तिर्खा नै बिर्सिएको बताइन्। “बिहानदेखि बेलुका तनावमै बित्छ। खाना खान मन लाग्दैन। मेरो छोरा अहिले एसईई परीक्षा दिइरहेको छ। श्रीमान घरको मुली व्यक्ति हुनुहुन्थ्यो। अब कसरी अगाडि बढ्ने?”

    जनता र प्रशासनलाई अनुरोध : ‘कृपया खबर दिनुहोस्’

    यदि कसैलाई गंगा गुप्ताको बारेमा कुनै जानकारी भए, कृपया नजिकको प्रहरी चौकीमा खबर गरिदिनुहुन श्रीमती पवित्राले अनुरोध गरेकी छिन्। साथै, मिडिया र सर्वसाधारणलाई पनि सहयोग गरिदिन अपिल गरेकी छिन्।

    सम्पर्क :
    📞 पवित्रा गुप्ता९७०९९२७०२५

    एक बेसहारा आमाको करुण पुकार

    चार महिनासम्म बेपत्ता श्रीमानको पर्खाइमा बसेकी पवित्रा गुप्ताको मनोव्यथा कुनै पनि आम नागरिकको मन छुने खालको छ। यो घटनामा विभिन्न रहस्यहरू लुकेका हुन सक्छन्, जसको खोजीमा प्रशासन गम्भीर बन्नुपर्ने देखिन्छ। गंगा गुप्ता जिउँदै छन् वा कुनै दुर्घटनामा परेका छन्? यदि उनी आफ्नो इच्छाले नै घर छोडेर हिँडेका हुन् भने पनि कमसेकम श्रीमतीलाई खबर दिनु उचित हुनेछ। आफ्नो सन्तानको भविष्यका लागि, श्रीमतीको मानसिक शान्तिका लागि गंगाले खबर पठाउनु जरुरी छ।

    अब प्रहरी प्रशासनले के कदम चाल्छ? के गंगा गुप्ता फिर्ता आउँछन्? लोकसारथी निरन्तर यस विषयमा अपडेट दिनेछ।

    प्रकाशित : आइतबार, १० चैत्र २०८१ , ०३:१० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend