logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

युवाको चित्तशुद्धि र चेतनाको जागरणका लागि गीता मार्ग, अध्याय १ अन्तिम श्लोक

युवाको चित्तशुद्धि र चेतनाको जागरणका लागि गीता मार्ग, अध्याय १ अन्तिम श्लोक


  • मंगलबार, बैशाख ९ २०८२
  • 871
    SHARES

    – लोकसारथि संवाददाता

    आजका किशोर–किशोरीहरू आधुनिकता र प्रविधिको चकाचौंथमा अनेक भ्रम, आकर्षण र अस्थिरतामाझ दिन बिताइरहेका छन्। मांसाहार, मदिरा, अश्लील चलचित्र, अनियन्त्रित यौन आकर्षण, मोबाइल–इन्टरनेटको दुरुपयोग, सामाजिक आडम्बर—यी सबैले उनीहरूको चेतनामा गहिरो र दीर्घकालीन असर पारिरहेको छ।

    यी तत्वहरूले क्षणिक आनन्द त दिन सक्छन्, तर दीर्घकालीन रूपमा शरीर, मन, संस्कार र आत्मालाई नै कमजोर बनाइरहेका छन्। यसैले आजको युवापुस्ताले जीवनका स्थायी मूल्यहरू—सत्य, शुद्धता, संयम, सेवा—तर्फ ध्यान दिनु अत्यावश्यक भइसकेको छ।

    सात्विक जीवनशैली, जसमा शुद्ध आहार, शुद्ध विचार, नामजप, आत्मसंयम र ईश्वरको संगसंगति रहन्छ, यही नै स्थायी शान्तिको मूल मार्ग हो। राधाकृष्ण नामरूपको संगत नै जीवनमा स्थिरता र दिव्य आश्रय दिने परमशक्ति हो।

    सत्सङ्ग, भजन, तथा गीता–भागवतजस्ता शास्त्रहरूको श्रवण र चिन्तनमार्फत युवाले आफ्ना दिग्भ्रमित सोच र संकीर्ण दृष्टिकोणलाई विस्तारित गर्न सक्छन्। राधा–नामको पवित्र उच्चारणसँगै सत्यकर्मको अभ्यास गर्न थाले युवा पुस्ताको जीवनमा नयाँ उज्यालो आउन सक्छ। “राधा, राधा, राधा”—यो नाम जापमा मन केन्द्रित गर्नु र सच्चा कर्ममा लाग्नु आजका पुस्ताको परमकल्याणको मार्ग हो।

    यही भावलाई अझ प्रगाढ बनाउन गीता अध्ययनको अभ्यास अनिवार्य छ। गीता जीवनको गहिरो प्रश्नहरूको उत्तर दिने अमृत ग्रन्थ हो। त्यसैले सन्तानमा यसको आदत बसाल्न मातापिता स्वयं पनि गीता पठन, श्रवण र चिन्तनमा लाग्नुपर्छ। किनभने आमाबुबा नै सन्तानका पहिलो गुरु, आदर्श र मार्गदर्शक हुन्।

    गीता अध्याय १ को अन्तिम श्लोक (४६) मा अर्जुनको मानसिक स्थिति स्पष्ट गरिएको छ:

    “उवमुक्त्वार्जुनः संख्ये रथोपस्थ उपाविशत् ।

    विसृज्य सशरं चापं शोकसंविग्नमानसः ॥”
    अर्थात् — “अर्जुनले धनुष–वाण त्यागेर युद्धभूमिमा रथमा बस्नुभयो, उहाँको मन शोक र मोहले आक्रान्त थियो।”

    यो अर्जुनको अवस्था आजको युवाको अवस्था जस्तै हो—संकटको क्षणमा शोक, मोह, द्विविधा र असहायता। तर यतिखेर नै श्रीकृष्णको गीता उपदेशले अर्जुनलाई पुनः जागृत गराए झैँ, आज पनि युवालाई गीता मार्गमै आश्रय लिन आवश्यक छ।

    यदि गीता रूपी अमृतलाई जीवनमा आत्मसात् गर्न सकियो भने, आजको युगको सङ्कटमा युवा वर्ग नै नयाँ युगको निर्माता बन्नेछ।

    श्रीमद्भगवद्गीता यथारुप, अध्याय १ समाप्त ।

    प्रकाशित : मंगलबार, ९ बैशाख २०८२ , ०८:३७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend