logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

भूकम्प स्मृति कार्यक्रम सहभागी हुन गोरखा आइपुगेका प्रचण्ड – सहानुभूति कि चुनावी रणनीति?

भूकम्प स्मृति कार्यक्रम सहभागी हुन गोरखा आइपुगेका प्रचण्ड – सहानुभूति कि चुनावी रणनीति?


  • बिहिबार, बैशाख ११ २०८२
  • 1.5K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा नगरपालिका–१२, कुन्दुटारस्थित १० किलोमा आइपुगेका छन्। उनले यहाँ सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गर्दै २०७२ सालको विनाशकारी भूकम्पको १० वर्ष पुग्दाको अवसरमा भोलि बैशाख १२ गते बारपाकमा आयोजना हुने भूकम्प स्मृति कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ।

    तर राजनीतिक विश्लेषकहरू र स्थानीय जनता भने प्रचण्डको यो भ्रमणप्रति विभाजित देखिन्छन्। के यो भ्रमण वास्तवमै जनसमस्यामा गम्भीर चासो राख्ने प्रयास हो? कि आगामी राष्ट्रिय निर्वाचनको तयारीस्वरूप ‘चुनावी बजार गराइ’ मात्र?

    सहानुभूति देखाउने, समाधानको स्पष्ट योजना भने छैन?

    सहिद परिवार तथा बेपत्ता नागरिकसँग भेटघाट गर्नु सहानुभूतिपूर्ण कार्य हो भन्नेमा दुईमत छैन। तर यहाँ प्रश्न उठेको छ – यस्ता भेटघाटमा नागरिकले दशकौँदेखि भोग्दै आएको पीडा सम्बोधन गर्ने दीर्घकालीन रणनीति के छ?

    सन् २०७२ को विनाशकारी भूकम्पबाट प्रभावित बारपाकलगायत गोरखाका अधिकांश क्षेत्रहरू अझै पनि पुनर्निर्माण, रोजगार, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवाबाट वञ्चित छन्। बारम्बारका राजनीतिक नेता तथा प्रधानमन्त्रीहरू आए, भाषण गरे, फोटो खिचाए — तर स्थायी समाधानका योजना मात्र कागजमै सीमित भए।

    जनताले प्रश्न गरिरहेका छन्

    स्थानीय जनताकै भनाइ छ — “हामीलाई भेट्न आउनु राम्रो हो, तर समाधान लिएर आउनु अझ जरुरी हो। १० वर्ष भयो, कतिले अझै घडेरी प्रमाणित गर्न सकेका छैनन्। कतिका बालबालिका विद्यालय जान सकेका छैनन्।”

    राजनीतिक प्रतिश्रुतिहरू पूरा नहुँदा जनतामा असन्तोष र निराशा बढ्दो छ। यो सन्दर्भमा प्रचण्डको भ्रमण जनतासँगको भावनात्मक सम्बन्ध बलियो बनाउन खोजिएको चुनावी चाल मात्र हो कि? भन्ने प्रश्न गम्भीर रूपमा उठेको हो।

    प्रचण्डको भ्रमणलाई केवल आलोचना गर्ने भन्दा पनि जनताले यथार्थ बुझ्ने अधिकार र विवेक प्रयोग गर्नुपर्ने बेला आएको छ। यदि यो भ्रमण भूकम्पपीडित जनताको जीवनस्तर उठाउने दिगो योजना र बजेटसहितको कार्यान्वयनका लागि हो भने, यसले सकारात्मक प्रभाव पार्न सक्छ। अन्यथा, यो केवल अर्को राजनीतिक फोटो सेसनमै सीमित हुनेछ, जुन विगतमा पनि कयौं नेताले गर्दै आएका छन्।

    यही सन्देश जनताले नेताहरूलाई दिन आवश्यक छ — अब भाषण होइन, समाधान चाहिन्छ।

    प्रकाशित : बिहिबार, ११ बैशाख २०८२ , ०२:३४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend