लोकसारथि संवाददाता।
नवलपरासी पश्चिमको सुनवल नगरपालिका–६ सगरमाथा टोलमा रहेको एक पोखरीमा एकै घरका दुई सानातिना दाजुभाइको शव फेला परेको छ। मृत अवस्थामा भेटिनेमा पुलटोलका विष्णु कवंरका दुई छोरा—१० वर्षीय विप्सन कवंर र ८ वर्षीय दिप्सन कवंर रहेका छन्।
इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलका अनुसार बालकहरू वैशाख १९ गते बिहान १० बजे खाना खाएर घरबाट निस्किएका थिए। उनीहरू साँझ ५ बजेसम्म पनि घर नफर्किएपछि खोजी सुरु गरिएको थियो। स्थानीयवासीले पोखरीमा एक बालक तैरिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनास्थल नजिकै पोखरीको छेउमा दुईवटा बालकका कपडा भेटिएपछि अर्को बालक पनि त्यही पोखरीमा डुबेको हुन सक्ने आशङ्कामा प्रहरी र स्थानीयवासीहरू पोखरीभित्र पसेर खोजीमा जुटेका थिए। खोजीका क्रममा केही समयमै दोस्रो बालक पनि पोखरीको गहिराइमा गडेको अवस्थामा मृत फेला परेका हुन्।
प्राप्त जानकारीअनुसार मृतक दुवै बालक जनसेवा माध्यमिक विद्यालयमा अध्ययनरत थिए। विप्सन कक्षा ४ मा र दिप्सन कक्षा २ मा पढ्दथे।
स्थानीय बासिन्दाहरूका अनुसार बालकहरू खेल्नकै क्रममा पोखरीमा पसेका हुनसक्ने अनुमान गरिएको छ। पोखरीमा सुरक्षित घेराबार नभएको र बालबालिकालाई सजिलै प्रवेश गर्न सकिने अवस्था रहेकोले यस्ता दुर्घटना हुन सक्ने स्थानीयको भनाइ छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ। घटनाले सिंगो गाउँमा शोकको छायाँ छाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
