लोकसारथि संवाददाता, काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आज (आइतबार) देखि देशभर सुरु गरेको छ। यसअघि वैशाख ११ गतेदेखि सुरु हुने तालिका तय भए पनि शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा १० दिनपछि सारिएको थियो।
परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार यसपटक देशभर १,५९१ परीक्षा केन्द्रमा ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी हुँदै छन्। तीमध्ये ३ लाख ९५ हजार ९०८ जना नियमित परीक्षार्थी हुन् भने १ लाख १५ हजार ६१७ जना आशिंक परीक्षार्थी छन्। नियमित विद्यार्थीको संख्या ७७.३९ प्रतिशत रहेको छ।
प्रदेशगत रूपमा बागमती प्रदेशमा सबैभन्दा धेरै ४ सय परीक्षा केन्द्रमा १ लाख ३५ हजार २ सय ४० जनाले परीक्षा दिँदै छन्। कर्णाली प्रदेशमा सबैभन्दा कम ३८ हजार ८८८ परीक्षार्थी सहभागी छन्। यसैगरी, जापानबाट पनि ३७ जना नेपाली विद्यार्थीले कक्षा १२ को परीक्षा दिने भएका छन्।
परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन देशभर ४८ हजार २ सय ९ जना कर्मचारी परिचालन गरिने बोर्डले जनाएको छ।
परीक्षाका लागि जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति गठन गरिएको छ, जसले परीक्षा अनुगमन र पर्यवेक्षणको कार्य गर्नेछ।
सूचना आदानप्रदान र समस्याको समाधानका लागि उपनियन्त्रकको नेतृत्वमा कन्ट्रोल रुम सञ्चालनमा ल्याइएको छ। कन्ट्रोल रुमसँग सम्पर्क गर्नका लागि ०१६६३८१४९ र ०१६६३०७४७ नम्बरहरू उपलब्ध गराइएको छ।
परीक्षा सुरु हुनु अघिको आधा घण्टामा प्रश्नपत्र सम्बन्धित केन्द्रमा इमेलमार्फत पठाइनेछ। साथै, केन्द्राध्यक्ष बाहेक अन्य कसैलाई मोबाइल फोन परीक्षा केन्द्रभित्र लैजान निषेध गरिएको बोर्डले स्पष्ट पारेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
