logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

लगातारको वर्षापछि सुधार : काठमाडौं प्रशासनले सोमबारको सार्वजनिक बिदा खारेज गर्‍यो

लगातारको वर्षापछि सुधार : काठमाडौं प्रशासनले सोमबारको सार्वजनिक बिदा खारेज गर्‍यो


  • सोमबार, असोज २० २०८२
  • 689
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयले सोमबारका लागि घोषणा गरिएको सार्वजनिक बिदा खारेज गरेको छ। आइतबार राति १० बजे सूचना जारी गर्दै प्रशासनले सोमबार बिहान १० बजेदेखि काठमाडौं जिल्लाका सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरूमा सेवा पुनः सुरु गर्न निर्देशन दिएको हो।

    यसअघि लगातारको वर्षाका कारण राजधानी प्रवेश मार्गहरू अवरुद्ध भएपछि गृह मन्त्रालयले आइतबार र सोमबार दुबै दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर, आइतबार साँझ गृह मन्त्रालयले मौसममा सुधार आएको र विपद् जोखिम कम भएको निष्कर्ष निकालेपछि, प्रत्यक्ष विपद् व्यवस्थापन कार्यमा संलग्न नभएका जिल्लाहरूमा सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो।

    त्यसैअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदा खारेज गर्दै सबै कार्यालयहरू खुला रहने जनाएको हो।

    जारी सूचनामा भनिएको छ,

    “विगत २ दिनदेखि लगातारको भारी वर्षाका कारण राजधानी प्रवेश गर्ने मार्गहरू अवरुद्ध भएको र तत्काल उद्धार तथा राहत कार्यमा जुट्नु पर्ने अवस्थाका कारण असोज १९ र २० गते सार्वजनिक बिदा भनिएकोमा, हाल मौसममा सुधार भएको र जोखिमको अवस्था टरिसकेको हुँदा सोमबार बिहान १० बजेदेखि काठमाडौं जिल्लाका सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरूमा नियमित सेवा प्रवाह हुने गरी कार्यालय खुला राखी कर्मचारी उपस्थितिको व्यवस्था मिलाउन अनुरोध छ।”

    यससँगै, आइतबारदेखि बन्द रहेका अधिकांश सरकारी कार्यालयहरू सोमबार बिहानदेखि खुल्ने भएका छन्। प्रशासनले नागरिकलाई आवश्यक कामका लागि सम्बन्धित कार्यालयहरूमा उपस्थित हुन आग्रह गरेको छ।

    प्रकाशित : सोमबार, २० असोज २०८२ , ०९:४२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend