logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

सम्पादकीय: हे नेपाल आमा, तिमी साँच्चै कति दुर्भाग्यशाली रहिछ्यौ — दूरदर्शी प्रधानमन्त्री त कहिल्यै पाइनौ

सम्पादकीय: हे नेपाल आमा, तिमी साँच्चै कति दुर्भाग्यशाली रहिछ्यौ — दूरदर्शी प्रधानमन्त्री त कहिल्यै पाइनौ


  • बुधबार, कार्तिक १२ २०८२
  • 1.5K
    SHARES

    सम्पादकीय

    नेतृत्वको सवालमा सक्षम र असक्षम भन्ने विभाजनलाई ठूलो विषय बनाउन आवश्यक छैन, किनभने यो मर्त्यलोकमा पूर्ण रूपमा सक्षम वा असक्षम कोही पनि हुँदैन। प्रश्न केवल त्यति मात्र हो — को इमानदार छ, को देशप्रेमी छ, र को देशलाई सही दिशातर्फ डोर्याउने दृष्टि राख्छ?

    हाम्रो समाजमा नेतृत्वलाई हेर्ने दृष्टिकोण नै बांगो छ। कोही भन्छन्, नेतृत्व राजनीतिक वंश वा पार्टीगत परम्पराको उपज हुनुपर्छ; कोही भन्छन्, धनी, प्रभावशाली, वक्ता वा जेलभोगी हुनुपर्छ। तर सत्य के हो भने नेतृत्वको सार ती बाह्य आवरणहरूमा होइन, अन्तर्निहित सात गुणहरूमा निहित हुन्छ — इमानदारिता, शिक्षा, सेवाभाव, देशप्रेम, सत्यनिष्ठा, दूरदर्शिता र नेतृत्व ग्रहण गर्ने साहस। यी सातवटै गुण भएका व्यक्तिलाई आँखा चिम्लेर नेतृत्वको जिम्मा दिन सकिन्छ। यी सातवटै गुणहरुमा प्राण सञ्चार भइरहेको हुनुपर्दछ । यिनको प्राण भनेको नै विवेक हो । विवेक बजारमा किनेर वा कसैले उपहार दिएर पाइँदैन । न त यो तालिमद्वारा प्राप्त गर्न सकिने विषय हो । विवेक त नैसर्गिक हुन्छ । व्यक्तिले जन्मजात लिएर आउनुपर्दछ । विवेक एक दिव्यांश हो जो अति सूक्ष्म स्वरुप हुन्छ । यसैले उचित–अनुचित, न्याय–अन्याय, सही–गलत र पाप–पुण्यको पहिचान गर्ने क्षमता प्रदान गर्दछ ।

    तर विडम्बना देखियो — नेपालमा न त यस्ता नेतृत्व जन्मिए, न त तिनलाई जन्माउने वातावरण बनाइयो। असल शिक्षकले असल विद्यार्थी जन्माउँछ, तर नेपालमा झूट, स्वार्थ र छलकपटका बीउ रोप्ने नेताहरूले तिनकै जस्ता अनुयायी तयार पारे। फलस्वरूप, असल नेतृत्वको परम्परा नेपालको इतिहासमा अस्ताउन पुग्यो ।

    नेतृत्वको विमर्श र दलाल प्रवृत्ति

    वास्तविक नेता त्यो हो, जसले परिस्थितिसँग सम्झौता नगरी, नलोभीई, नडराई सत्यका पक्षमा उभिन्छ। जो देश र जनताको हितमा इमानदार मध्यस्थकर्ता (facilitator) को भूमिका खेल्छ। त्यसको विपरीत कार्य गर्नेहरू नेता होइनन् — ती दलाल, विदेशी कठपुतली वा देशद्रोही हुन्। यस्ता प्रवृत्तिहरूले देशलाई कहिल्यै अगाडि बढ्न दिएनन्।

    हामीले देख्दै आएका छौँ, सत्तासीनहरु पार्टीगत स्वार्थपूर्ति हुँदा मौन रहन्छन्; सत्ता गुमेर स्वार्थ पूरा नहुँदा आन्दोलन र क्रान्तिका नारा लगाउँदै सडक र सदनमा हुलहुज्जत गरिन्छ ।  । न त नीति बदलिन्छ, न व्यवहार। परिणामस्वरूप देश निराशा, अविश्वास र अस्थिरताका घेरामा कैद रहिरह्यो।

    जेनजी आन्दोलन र नयाँ अपेक्षाको विफलता

    जेनजी आन्दोलनपछि देशले नयाँ आशा बोकेको थियो — अब त परिवर्तनको बिहान उदाउँछ भन्ने विश्वास थियो। तर त्यो विश्वास पनि कुहिएर भुईंमा खस्यो। जनताको बलिदानलाई राजनीतिक स्वार्थका दलदलमा पुरेर फेरि पुरानै ढर्राको सत्ता–खेल सुरु भयो।

    जनादेशबाट प्रधानमन्त्री बनेकी सुशीला कार्कीप्रति प्रारम्भमा धेरैको अपेक्षा थियो — तर उनी पनि पुरानै संसदीय वृत्तमा अड्किइन्। देशलाई निर्वाचनको नाममा फेरि अर्को आर्थिक र प्रशासनिक भार थोपर्नु, जनविश्वासमा चोट पुर्याउनु नै उनको पहिलो ठुलो गल्ती बन्यो। नयाँ दलहरूको दर्ता र तयारीले फेरि त्यही पुरानो प्रतिस्पर्धा, त्यही सत्ताको लालसा दोहोर्याइरहेको छ।

    यदि कुनै नयाँ दलले राष्ट्रवादी धार बोकेर प्रस्तुत भयो भने पनि, हाम्रो विभाजित जनमत प्रणालीमा उसले दुई–तिहाइ बहुमत पाउने सम्भावना न्यून छ। फलस्वरूप, फेरि पनि मिलिजुली सत्ता, फेरि पनि ‘सम्झौता–राजनीति’। देश भने पुनः बलिदानको घेरामा।

    अब के गर्न सकिन्छ?

    प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा विघटन गरेकै ढर्रामा राज्यसभा पनि विघटन गरेर नयाँ राजनीतिक अध्याय सुरु गर्न सक्थिन्। अन्तरिम संविधानमार्फत जनचाहना अनुसार संविधान संशोधन, गैरदलीय स्थानीय निकाय, र राजनीतिक स्वार्थभन्दा माथि उठेर नीति निर्माण गर्ने बाटो खुलाउन सकिन्थ्यो। तर उनले पुरानै संरचना निरन्तरता दिइन्, जसले देशमा अर्को राजनीतिक भीडन्तको बीउ रोपिसकेको छ।

    अब पनि ढिलो भइसकेको छैन। उनले जनादेशको सच्चा अर्थ बुझेर राज्यसभा विघटन गर्न, अन्तरिम संविधानको बाटोमा अघि बढ्न, संविधान संशोधनको आधार तयार पार्न र जनताको विश्वास पुनःस्थापित गर्न जरुरी छ। त्यही हो जेनजी आन्दोलनले दिएको बलिदानको वास्तविक सम्मान।

    डा. सी.के. राउतले सुझाएझैँ, यदि चुनाव गर्नै पर्‍यो भने धांधली रोक्ने बलियो उपाय — नोटबन्दी — अघि ल्याउन सकिन्छ। होइन भने चुनावको नाटक नगरी वैकल्पिक नेतृत्वको बाटो खोल्नुपर्छ। आखिर, वेश्यावृत्तिमा पनि केही इमानदारी हुन्छ, तर दलालवादी राजनीतिमा छैन।

    यदि प्रधानमन्त्रीको सूचीमा नाम लेखिएको मात्र सन्तोष हो भने, त्यस पदको कुनै अर्थ रहँदैन। त्यस अवस्थामा सबैभन्दा इमानदार निर्णय राजीनामा नै हुन्छ। देशमा डा. निकोलस, हर्क साम्पाङजस्ता देशभक्त नागरिक अझै छन् — जसले देशको मर्म बुझ्छन्, जनताको पीडा महसुस गर्छन्, र सत्यका पक्षमा निर्भीक उभिन सक्छन्।

    अन्त्यमा
    नेपालको दुर्भाग्य सधैं असल नेतृत्वको अभाव हो। सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश पदमा कार्य गरिसकेको र भ्रष्टाचारविरुद्ध शून्य–सहिष्णुता बोकेको व्यक्तित्व हुन् । वर्तमान कानुन संशोधन नगरेसम्म भ्रष्टाचारको नेटवर्कलाई निर्मूल पार्न सकिन्न । कानुन संशोधन गर्नका लागि संविधान–संशोधन हुनै पर्छ भन्ने न्यूनतम ज्ञान उहाँमा होला, अपेक्षा राखौँ ।
    जबसम्म इमानदारी र दूरदर्शिता बोकेका नेताहरूले सत्ता र शक्ति होइन, सेवा र सत्यलाई आफ्नो धर्म मान्दैनन् — तबसम्म नेपालको मुहार फेरिँदैन।
    देशले आजैदेखि नयाँ चेतनाको बिहान खोज्नुपर्छ —
    जहाँ “राजनीति” होइन, “राष्ट्रनीति-सेवानीति” प्रधान होस्।

    प्रकाशित : बुधबार, १२ कार्तिक २०८२ , ०८:२४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend