logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

नयाँ दललाई बंगलादेशकाे निर्वाचनले दिएकाे सन्देश

नयाँ दललाई बंगलादेशकाे निर्वाचनले दिएकाे सन्देश

समस्या हाम्राे निर्वाचन प्रणालीमा छ। जबसम्म निर्वाचन प्रणालीमा सुधार गरिँदैन तबसम्म कुनै दलले स्पष्ट बहुमत ल्याउँदैन।


  • शनिबार, फाल्गुन २ २०८२
  • 2.6K
    SHARES

    बंगलादेश र नेपालका विगत केही समयदेखिका राजनीतिक उतारचढाव र परिघटना समान प्रकृतिका र महत्त्वपूर्ण पनि छन्। किनकि बंगलादेश भाैगाेलिक रूपले नेपालकाे निकटतम देश हाे र यस देशमा घटेका कतिपय राजनीतिक परिघटनाले नेपाली जनतालाई प्रत्यक्ष पराेक्ष रूपमा प्रभाव पारिरहेकै हुन्छन् । यही सिलसिलामा सेख हसिनाकाे नेतृत्वमा निर्वाचित अवामी लिग पार्टीको सरकारलाई २०२४ मा भएकाे जेन्जी विद्राेहमार्फत अपदस्त गरी उदाएकाे नयाँ राजनीतिक दल (NCP) ले सर्मनाक पराजय बेहाेरेकाे छ। उसले जम्मा छ सिट पक्का गरेकाे छ। सेख हसिना अपदस्त भएपछि उनकाे पार्टी अवामी लिग यस निर्वाचनमा सहभागी भएन अर्थात् उसलाई निर्वाचनमा भाग लिन प्रतिबन्धित गरियाे।

    बंगलादेशको इतिहासमा सन् १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म (BNP) की बेगम खालिदा जियाले प्रधानमन्त्रीका रूपमा नेतृत्व गरिन्। पूर्वप्रधानमन्त्री खलिदा जियाकाे २०२४ निधन भयाे। सन्२००८ देखि २००२४ सम्म अवामी लिगकी सेख हसिनाले बंगलादेशको प्रधानमन्त्रीत्व सम्हालिन् । हाल उनी २०२४ काे जेन्जी आन्दोलनपछि भारतमा निर्वासित अवस्थामा छन्। बंगलादेशको पुरानाे पार्टी बंगलादेश नेसनल पार्टी (BNP) ले भर्खर सम्पन्न आम निर्वाचनमा २०९ सिटमा विजय हासिल गरी ऐतिहासिक जित दर्ता गरेकाे छ। जेन्जी आन्दोलनपछि उदाएकाे नेसनल सिटिजन पार्टीकाे चुनावअघिकाे लाेकप्रियता मतपत्रमा व्यक्त भएन । यस घटनाले नयाँप्रतिकाे रुझान तथा जनताकाे विश्वास र मत प्रकट नहुनुले नेपालका नयाँ दललाई समेत झड्का दिनसक्ने गरी झस्काएकाे छ।

    लाखौं फेसबुके मिथ्या फलाेअर्स, लाइक, कमेन्ट, भ्युज, क्षणिक स्टन्ट र सस्तो लाेकप्रियता, भावनात्मक ब्यकमेलिङ जस्ता कुराहरू केही समयका लागि मात्र टिक्दछन् भन्ने कुरा बंगलादेशको निर्वाचनले प्रमाणित गरेकाे छ। बंगलादेशकी लाेकप्रिय युवा नेतृ ३१ वर्षीय तास्मिन जारालाई ७५ लाख फलाेअर्सकाे लाइकले जिताएन बरु निर्वाचनमा जनताकाे अभिमतले हरायाे। नयाँ र पपुलिजमकाे आधारमा चुनाव जितिने हाेइन रहेछ भन्ने कुरा थाइल्यान्डमा भएकाे निर्वाचनले पनि पुष्टि गर्दछ। एउटा सामाजिक मनाेविज्ञानले हाम्रो समाजमा के जरा गाडेर बसेकाे छ भने सरकार र मन्त्री परिवर्तन गरे सब छुमन्तर जादु भैहाल्छ । के नयाँ सरकार बन्दैमा देशमा सुशासन र भ्रष्टाचार निमट्यान्न हुन्छ? देशकाे कर्मचारीतन्त्र,न्यायिकतन्त्र,पुलिस प्रशासन,सैनिक संयन्त्र वडा,स्थानीय तह, प्रदेश र संघको संरचनात्मक कार्यप्रणालीमा देखिएका सबै कमजाेर पक्षकाे सुधार हुन्छ? स्पष्ट कार्ययाेजना,रणनीति र कार्यनीति लिएर जनतामा अभिमतका लागि जानुपर्ने नयाँ भनिने दलहरू नै गाली पुराणमा उत्रिएकाे देखेर जनताकाे आशा पुन: धुमिलिन थालेकाे छ। देश बनाउने स्पष्ट खाका खाेई ? सुदृढ अर्थतन्त्रविनाकाे आर्थिक सुधार र स्राेतसाधनविना देश कसरी बन्छ ?

    नेपालका पुराना सरकारकाे एउटा समस्या विकास बजेटलाई समयभित्र पूर्णरूपले खर्च गर्न नसक्नु जटिल समस्या देखिन्थ्यो । ठ्याक्कै यही समस्या नयाँ दलका प्रस्तावित प्रधानमन्त्री बालेन साहले नेतृत्व गरेकाे महाजगरमा पनि दाेहाेरिएकाे छ। समस्या हाम्राे निर्वाचन प्रणालीमा छ। जबसम्म निर्वाचन प्रणालीमा सुधार गरिँदैन तबसम्म कुनै दलले स्पष्ट बहुमत ल्याउँदैन। त्रिशङ्कु संसद र सत्ताकै छिनाझम्टी भइरहन्छ । निर्वाचनमा हाेमिएका नयाँ दलहरूलाई हेर्ने हाे भने उनीहरूमा पनि कुनै राेजगारी निर्माण,सुशासन,विकास तथा बग्रेल्ती समस्यामा केन्द्रित तथा समाधानमुखी भएर एजेन्डाकेन्द्रित बहसमा पटक्कै रुचि देखिँदैन। जनताका प्रश्नबाट भाग्ने ,अमूर्त कुराकाे फेहरिस्त सुनाउने र प्रतिशाेध तथा गालीगलाैजमा केन्द्रित हुने प्रवृत्ति नसुध्रिएसम्म पात्र नयाँ र पुरानाले तात्विक अन्तर पार्दैन जस्ताे लाग्छ। नेपाली जनताले खाेजेकाे नयाँकाे अर्थ एउटा देखिरहेकाे अनुहारका ठाउँमा अर्काे नदेखिएकाे अनुहार हेरेर दृष्टि फेर्न मात्रै अवश्य हाेइन। तसर्थ चुनावलाई अनुहारकाे चर्चामा भन्दा पनि पात्रको प्रवृत्ति र एजेन्डा केन्द्रित बहसतर्फ लैजान सके केही हदसम्म भए पनि सार्थक हुन्थ्याे कि भन्ने हाे।अन्यथा बंगलादेशकाे निर्वाचन परिणामकाे पुरावृत्ति नेपालमा पनि हुन नसक्ला भन्न सकिन्न।

    प्रकाशित : शनिबार, २ फाल्गुन २०८२ , ११:१५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend