logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

प्रहरी हिरासतमा युवकको मृत्यु भएपछि छानबिन समिति गठन

प्रहरी हिरासतमा युवकको मृत्यु भएपछि छानबिन समिति गठन


  • सोमबार, असार १ २०८३
  • 507
    SHARES

    सुर्खेत, असार १ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ वर्षीय शाविर बक्सको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।

    जिल्ला प्रशासन कार्यालय सुर्खेतले जेठ ३१ गते प्रशासकीय अधिकृत गीता बरैको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा वीरेन्द्रनगर नगरपालिका–१० का वडाध्यक्ष दिलबहादुर रखाल, मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशकी सदस्य खगिसरा वली, नेपाल पत्रकार महासंघ सुर्खेतका सदस्य ओमबहादुर शाही तथा पीडित परिवारका तर्फबाट फर्जी बक्स सदस्य रहेका छन्।

    शाविर बक्सको मृत्युको घटनाप्रति परिवारजनले निष्पक्ष छानबिनको माग गर्दै हालसम्म शवको पोस्टमार्टम गर्न दिएका छैनन्। परिवारका सदस्यहरूले छानबिन समितिले आफ्नो काम अघि बढाएपछि मात्र शवको पोस्टमार्टम गरिने बताएका छन्।

    प्रहरीका अनुसार चोरीको आरोपमा जेठ २७ गते पक्राउ परेका बक्सलाई जेठ ३० गते बिहान करिब ४ बजे हिरासतभित्र अचेत अवस्थामा फेला पारिएको थियो। त्यसपछि उनलाई बिहान ४ः३० बजे प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। अस्पतालका चिकित्सकले बिहान ५ः३० बजे उनलाई मृत घोषणा गरेका थिए।

    घटनाको वास्तविकता सार्वजनिक गर्न तथा मृत्युको कारणबारे निष्पक्ष अनुसन्धान गर्न सरोकारवाला निकायहरूको ध्यानाकर्षण भएको छ। छानबिन समितिले घटनासम्बन्धी तथ्य संकलन गरी प्रतिवेदन पेश गर्ने तयारी गरेको जनाएको छ।

    प्रकाशित : सोमबार, १ असार २०८३ , ०१:१९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend