Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सुख, खुसी, आनन्द कहाँ छ ?

सुख, खुसी, आनन्द कहाँ छ ?


  • मंगलबार, असोज ९ २०८०
  • 1.4K
    SHARES

    ‘जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा स्वास्थ्य हो किनभने स्वास्थ्य सही छैन भने तपाईंले जतिसुकै मीठो खानुहोस्, जतिसुकै राम्रो लगाउनुहोस्, जतिसुकै महँगो गाडी चढ्नुहोस्, जतिसुकै भव्य महलमा बस्नुहोस् कुनै अर्थ हुँदैन तर जीवनमा स्वास्थ्यभन्दा पनि ठूलो र महत्वपूर्ण कुरा छ त्यो हो, ‘खुसी अझ भनौं आनन्द ।

    मान्छे धेरै महत्वकांक्षी प्राणी हो हामी चाहन्छौँ हाम्रो उधोग धन्दा होस्, धेरैलाई काम, दाम र माम दिन सकियोस् । मिडिया, समाजमा नाम र कामले चिनियोस् तर, समय र केही उमेर गुज्रिएपछि बल्ल मनमा अनौठौं प्रश्न उठ्छ, आखिर यी सबै केका लागि ? तत्पश्चात् तत्वज्ञान प्राप्त हुन्छ कि यावत् प्राप्तिका लागि हामीले धेरै कुरा गुमाउनुपर्ने रहेछ ।

    आज हामी वेपत्तासँग दौडिरहेका छौं । पढाइका लागि, करियरका लागि, सफलताका लागि, सम्पन्नताका लागि । एउटा विन्दुमा पुगेपछि हामीलाई ती सबै कुरा प्राप्त हुन्छ। हामीसँग ब्यापार हुन्छ, जागिर हुन्छ, आम्दानीको स्रोत हुन्छ, घर हुन्छ, गाडी हुन्छ, बैन्क ब्यालेन्स हुन्छ, तर, यहाँसम्म आइपुग्दा हामीले आफूसँग भएका धेरै कुरा गुमाइसकेका हुन्छौं – आफ्नो समय, आफ्नो स्वास्थ्य, आफ्नो सम्बन्ध, आफ्नो सुख आफ्नो खुशी।

    अब हिसाब–किताब गरौं, हामीले पाएको कुरा ठूलो थियो कि गुमाएको ? यहाँ त आर्जन गरेको कुराभन्दा गुमाएको कुराको मोल र हिस्सा ठूलो हुने गर्छ । वास्तवमा हामीले यसको कुनै लेखाजोखा नै गरेका हुँदैनौं । यसैलाइ भनिन्छ अतृप्त र अल्प सुख ।

    हामी किन यसरी दौडधूपमा लाग्यौं ?
    किनभने हामीलाई सफलता चाहिएको थियो । सम्पन्नता चाहिएको थियो । सुविधा चाहिएको थियो । मान सम्मान चाहिएको थियो । यी कुराहरुबाट हामी सुखभोग गर्न आतुर थियौं ।

    के त्यसबाट हामीले सुखानुभूति गर्‍यौं त ?
    कुनैपनि भौतिक उपलब्धिले मान्छेलाई सुख अनुभूत पक्कैपनि गराउँछ । जस्तो पैदल हिँडिरहेको मान्छेले मोटरसाइकल चढ्न पाउँदा सुख अनुभव गर्छ । मोटरसाइकल चढ्नेले कार चढ्न पाएमा सुखबोध गर्छ । घर नहुनेले सानो ओंत पाउँदा सुखी हुन्छ । तर, यो सुखको आयु लामो हुँदैन ।

    यसो भन्दैमा पैसा, करियर चाहिँदैन भन्ने होइन । जीविकापार्जनका लागि चाहिन्छ तर, धनसम्पति जोड्ने जुन म्यारथन दौडमा हामी सामेल हुन्छौं, त्यसको कुनै पूर्णविराम हुँदैन । सफलता र सम्पतिका लागि दौडदा दौडदै समयले हामीलाई धेरै पर धकेलिसकेको हुन्छ । अर्थात् हामी जीवनको उत्तराद्र्धमा पुगिसकेका हुन्छौं ।

    त्यहाँ पुगेपछि हामीलाई के बोध हुन्छ भने, धन–सम्पति र सफलताले मात्र त सन्तुष्ट नदिने रहेछ । जब मान्छे एकदम गरिब छ, अभावमा छ भने उसले थोरै आम्दानी गर्दा पनि उसको खुसीको स्तर ह्वात्तै बढ्छ । किनभने उसले खान पाउँछ, लगाउन पाउँछ, जीवनमा केही सुधार हुन्छ । तर, एउटा मितिसम्म पुग्दा फेरी उसको खुसीको स्तर घट्दै–घट्दै जान थाल्छ । अनि फेरि पूर्वकै अवस्थामा पुग्छ । असन्तुष्टि, दुःखी हुन थाल्छ । मान्छे सबैकुरा भएर पनि दुःखी नै हुन्छ । किनभने उसले आफूसँग भएको जे जति छ त्यसले वा त्यतिले मात्र चित्त बुझ्दैन । त्यसको महत्व नबुझेर ऊ दुःखी हुन्छ ।

    यसको अर्थ के हो भने जुन कुरालाई हामीले सुख र आनन्दको स्रोत मानिरहेका छौं । वास्तवमा त्यसो होइन रहेछ । हामीले भनेको घर, हामीले भनेको गाडी, हामीले भनेको सफलता त सुख होइन रहेछ । जति–जति यी कुराबाट हामी तृप्त हुनका लागि दौडधूप गर्छौं, यसले त उत्तिनै अतृप्त बनाउने रहेछ । अन्ततः हामी दुःखी हुन थाल्छौं । हामीलाई चिन्ता लाग्न थाल्छ । पछुतो लाग्न थाल्छ ।

    तब हामी सोच्न बाध्य हुन्छौं कि, आखिर जीवनमा मैले चाहेको के थियो त ?
    यो प्रश्न हामीलाई त्यही बेला आउँछ, जब धेरे कुरा गुज्रिसकेको हुन्छ । अब फेरी फर्केर हामी आफ्ना गल्तीहरु सुधार्न सक्ने अवस्थामा हुँदैनौं । त्यसबेला हामीसँग एउटै कुरा, बाँकि रहन्छ त्यो हो ‘पश्चाताप’ ।

    सिकाइ पनि धेरै किसिमको हुन्छ । सिक्नुपर्ने कुरा के भने, जीवनमा धेरै कुरा नगुमाएर पनि खुसी वा आनन्द प्राप्त कसरी हुन्छ ? अर्थात जीवनमा यी दुईलाई समानन्तर र सन्तुलित ढंगले कसरी संगाल्न सकिन्छ ? अहम् प्रश्न हो यो । आँखा चिम्लेर हामीले स्वयम्लाई सोध्नुपर्ने । तर, यो प्रश्न आज सोध्ने कि ५०-५५ वर्ष पुगेपछि ?

    यहाँ आइपुगेपछि एउटा सत्य बुझ्न जरुरी छ कि, मान्छे भौतिक रुपमा सम्पन्न भए पनि मनको दरिद्र हुनसक्छ । साथै भौतिक रुपमा गरिब भएर पनि कोही मान्छे मनको सुखी र सम्पन्न हुनसक्छ । मनलाई यसरी सम्पन्न र सुखी बनाउने स्थायी स्रोत चाहिं मन एवं सोच रहेछ ।

    त्यसो भए यो मन एवं सोच चाहीँ के कुरामा निर्भर रहन्छ त ? कोही अभावै अभावमा भएर पनि किन आनन्दित छन् ? कोही पुगिसरी भएर पनि किन उदास छन् ? उनीहरुको मन किन यसरी विभाजित छ ? हामी जीवनमा कुनै लक्ष्य प्राप्तिका लागि जसरी दौडमा लाग्छौं, त्यहाँ पुरै उर्जा लगाउँछौं । एउटा लक्ष्य प्राप्त हुन्छ, फेरी अर्को लक्ष्यका लागि दौडन्छौं । जबसम्म हामीलाई ठेस लाग्दैन, जबसम्म हामी लड्दैनौं तबसम्म हामी पछाडि नफर्की दौडन्छौं ।

    यस किसिमको भागदौडमा मान्छेले सोच्न पाउँदैन कि म किन र केका लागि दौडिरहेको छु ? आखिर मैले जुन लक्ष्य हासिल गरिरहेको छु, त्यसका लागि यति धेरै कुरा खर्चनु कति उचित थियो ? अधिकांश मान्छेलाई के लाग्छ भने करियर र सफलता नै जीवनको एकमात्र ध्येय हो ।

    जबकि एउटा मान्छेको जीवनमा उसको जीवनबाहेक अरु धेरै कुरा थियो । परिवार थियो, आफन्त थियो, साथीभाइ थिए, समाज थियो आफ्नो स्वतन्त्रता थियो स्वाभिमान थियो, आफ्नो देश थियो । अब हामीले आफ्नो करियर र सफलताका लागि के–के बलिदान दियौं ? प्रत्येक प्राप्तिमा केही त गुमायौं । सम्बन्ध गुमायौं । विश्वास गुमायौं । आफन्त गुमायौं । भाईबन्धु गुमायौं । समय र शक्ति गुमायौं ।

    अब हामिले यो तय गर्नुपर्ने हुन्छ कि त्यो कुरा पाउनका लागि यो कुरा गुमाउने कि नगुमाउने ? वा यी दुवै कुरालाई सन्तुलित राख्ने ? जबसम्म मान्छेलाई दुःख पर्दैन तबसम्म ऊ सफलताकै धङ्धङ्ती बोकेर दौडिरहन्छ । तर, जीवनमा एकदिन त त्यो क्षण अवश्य आउँछ कि, जहाँ वियोग, दुःख, अभाव छ ।

    त्यसबेला आँसु कसले पुछ्ने ? सफलताले, करियरले, पैसाले त आँसु पुछ्दैन । दुःखमा सान्त्वना दिदैन । हो, यतिबेला हामीलाई थाहा हुन्छ, सबैभन्दा ठूलो कुरा त आफ्नो परिवार रहेछ, आफ्नो भाइबन्धु रहेछ, आफ्नो साथीसंगी रहेछ आफ्नो समाज रहेछ। अर्थात् जीवनमा कमाउनुपर्ने सबैभन्दा ठूलो कुरा त हार्दिक अनि निस्वार्थ सम्बन्ध रहेछ ।

    धनदौलत, सफलता, प्रतिष्ठाको दौडमा लाग्दा पनि हामीले साथीभाई वा सम्बन्ध त बनाउँछौ । उँचाईमा पुग्नका लागि हामीले अनेक किसिमको सम्बन्धहरु बनाउँछौ। नैतिक, अनैतिक जुनसुकै । पैसा कमाउन, व्यापार व्यावसाय गर्न, चर्चा र लोकप्रियता कमाउन हामीले सम्बन्धहरु बनाउँदै जान्छौं। साथी बनाउनु पर्ने, सहयोग गर्नु पर्नेलाई गर्दैनौ या गरेनौ र नगर्नु पर्नेलाइ गर्याैं तर, त्यो सम्बन्ध हामीले तराजुमा जोख्छौं। कोसँग सम्बन्ध बनाउँदा के कति फाइदा हुन्छ भनेर हिसाब गर्छाैं। आफ्नो नाफाका लागि मात्र साथी–सम्बन्ध जोड्दै जाँदा आफ्नो लक्ष्य पूरा हुनसाथ यी सम्बन्धहरु विघटन हुन्छन्।

    हामीले सम्बन्धमा नाफाघाटा खोज्दा, सम्बन्ध त पैसाले होइन, आत्मा र भावनाको गाँठोले बाँधिनुपर्ने हो। यस्तो सम्बन्ध नै चिरकालीन हुन्छ । त्यो सम्बन्धमा कुनै लेनदेन हुँदैन । यही सम्बन्ध नै हो, जसले हामीलाई जस्तोसुकै परिस्थिति र मनस्थितिमा पनि सुख दिइरहन्छ । असलमा सुख र आनन्दको स्थायी स्रोत भनेकै हार्दिकतापूर्वक जोडिने सम्बन्ध हुन् र परिवार सुख सर्वोत्तम हो।

    सफलता र पैसाले मान्छेको उन्माद बढाउँछ । मान्छेलाई यस्तो लाग्छ कि अब मलाई केही चाहिँदैन । म सर्वेसर्वा हुँ ।
    तर, समयले एकदिन उसलाई यस्तो ठाउँमा पुर्‍याउँछ कि ऊ एक्लो हुन्छ ।

    पैसा र सफलता पाउनका खातिर उसले सम्बन्धहरु कमजोर बनाइसकेको हुन्छ । जीवनको त्यो चरणमा जब ऊ एक्लो हुन्छ, तब उसको मनमा बेचैनी र छटपटी पैदा हुन थाल्छ । उसलाई बिरामी हुँदा भेट्न आउने कोही हुँदैन, अप्ठ्यारो पर्दा सहयोग गर्ने कोही बाँकी रहँदैन । त्यसबेला उसलाई आफ्नो पैसा एवं धनदौलतले केही गर्दैन । ऊ अत्यन्तै दुःखी हुन्छ ।

    दुःखको यो कुण्डमा डुब्नुअघि नै हामीले तय गर्नुपर्छ, जीवनमा पाउनु मात्र सबैथोक होइन । सबैथोक पाउने चक्करमा सबैभन्दा मूल्यवान परिवार र सम्बन्ध गुमाउनु हुँदैन । हामी तबमात्र सुखी रहन्छौं, जब हाम्रो पारिवारिक जीवन पूर्ण हुन्छ। परिवार, इष्टमित्रसँग यस्तो प्रेममय सम्बन्धहरु कसिलो बनाउँदै जानुपर्छ, जसले हामिलाई कहिल्यै एक्लो महसुस हुन नदेओस्। हामी आफ्ना आमाबुवा, छोराछोरी, श्रीमान्–श्रीमती, भाइबन्धुसँग नजिक हुनुपर्छ र आपसमा एकाकार भएर बाच्नुपर्छ । भौतिक निकटता र स्पर्शले पनि सम्बन्धमा मिठास भर्छ । त्यो मिठास नै सुख, खुसी र आनन्दको अविरल स्रोत हो ।

     

    प्रकाशित : मंगलबार, ९ असोज २०८० , ०२:५८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend