logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

पेट्रोलियम खोजीमा ऐतिहासिक उपलब्धि

पेट्रोलियम खोजीमा ऐतिहासिक उपलब्धि


  • शुक्रबार, पुष १९ २०८१
  • 624
    SHARES

    लोकसारथि, पुस १९, शुक्रबार । पेट्रोलियम खोजमा नेपालको पहिलो पाइला सफल भएको छ । नेपालले ऐतिहासिक रूपमा पेट्रोलियम अन्वेषण ड्रिलिङ सम्पन्न गरेको हो ।

    खानी तथा भूगर्भ विभागका अनुसार दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी नमुना (स्याम्पल) निकालिएको छ । विभागले यसलाई ऐतिहासिक उपलब्धि भनेको छ ।

    चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीले भौगर्भिक अध्ययन गरेको पेट्रोलियम अन्वेषण परियोजनामा सीएनपीसी इन्जिनियरिङले उत्खननको काम थालेको थियो ।

    लामो इतिहास बोकेको अन्वेषण

    नेपालमा लामो समयदेखि पेट्रोलियम पदार्थको अन्वेषणबारे विभिन्न स्तरको सर्वेको काम भइरहेको छ । ड्रिलिङ नै गरेर भएको यो पहिलो अन्वेषण हो । दैलेखसहितको भेगमा प्राकृतिक ग्यासको भण्डार रहेको अनुमान सन् १९६० ताका नै भएको थियो । २०३५ (सन् १९७८/७९) मा विश्व बैंकको सहयोगमा तराई र चुरे क्षेत्रको करिब ४८ हजार वर्गकिलोमिटर क्षेत्रफलमा सर्वे गरिएको थियो । त्यसबेला हवाई चुम्बकीय सर्वे गरिएको विभागको विवरणमा उल्लेख छ । नेपालमा पेट्रोलियम अन्वेषण प्रवर्द्धन परियोजना २०३९ सालमै स्थापना भएको हो ।

    नेपाललाई विभिन्न १० वटा ब्लक (खण्ड) मा विभाजन गरी अन्वेषणको काम भइरहेको छ । यसका लागि सरकारले विभिन्न मितिमा अन्तर्राष्ट्रिय टेन्डर निकाल्ने काम पनि गरेको छ । तर, सबैभन्दा बढी प्रगति देखिएको दैलेखमा हो । नेपालको दक्षिणतर्फको भेग, चुरे र महाभारत क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डार रहेको संकेत छ । सरकारले गत वैशाखमा ब्लक ४ र ५ मा पेट्रोलियम अन्वेषण गर्न बोलपत्र आह्वान गरेको थियो । तर, आवश्यक सर्त पूरा गरी बोलपत्र भने परेन ।

    प्रकाशित : शुक्रबार, १९ पुष २०८१ , ०१:५८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend