logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

‘अहो, मान्छे कलिको झ्याली छ’

‘अहो, मान्छे कलिको झ्याली छ’


  • आइतबार, पुष २१ २०८१
  • 780
    SHARES

    कविताले जीवनको यथार्थ, मानवीय कमजोरी, र नैतिकताको आवश्यकता झल्काउँदै सत्कर्म र अध्यात्मको मार्ग अवलम्बन गर्न प्रेरणा दिन्छ। कविताले अन्ततः मानिसलाई सन्देश दिन्छ कि जीवनको उर्वर भूमिमा राम्रो कर्मको बीज रोपौँ। भौतिक मोह त्यागेर अगोचर यात्राको तयारी गरौँ, किनभने यमराजको पाशविधान अत्यन्त कठोर छ। समयमै सत्कर्म र संकल्पले जीवनको सार्थकता खोज्नुपर्छ। —प्रधान सम्पादक

    ‘अहो, मान्छे कलिको झ्याली छ’

    भोग्नै सुरिन्छ यो तन, यो मन
    असल कर्मको खल्ती खाली छ
    पहिरिएर हिँड्छ हजार मुकुन्डो
    अहो,मान्छे कलिको झ्याली छ

    देखावा कति बगलीमा खंजर
    आवरणमा फूलको थाली छ
    मिठो मुस्कानले फसाइहाल्ने
    अब अर्काे भोगीको पाली छ

    साथीभाइहरु मतलबका सबै
    स्वार्थ पूरा हुँदा मात्रै ताली छ
    एकै वरले पुग्दैन सुकोमलालाई
    घर यौटा अनि पर अर्काे माली छ

    बदलिन्छ सम्बन्धको लयताल
    यता लोकभाका, उता कौवाली छ
    मुखले गुलियो बाहिर स्वादिलो
    भित्र पालिएको सयौँ गाली छ

    घमण्डको नसामा नझुले हुन्छ
    खस्ने नै त हो कालको नाली छ
    एकनास कहाँ हुन्छ यो जीवन
    खुसी र गमको उकालीओराली छ

    भट्टी त्यो रुपको आज त खुला छ
    तिम्रो जै जै गर्दै शराबीको र्‍याली छ
    भगिनीपतिलाई मान्ने आफ्नै खसम
    वधू बनी सधैँ दिलदार साली छ

    नियन्तासँगै खेल्दछ बरै लुकामारी
    व्यभिचारमा देख्छ, खुसियाली छ
    छलकपटले सुखी बन्छु भनी ठान्छ
    भुल्यो भोग्नैपर्छ जे कर्मको अन्नबाली छ

    उर्वर जीवनखेतमा गरौँ कुसुमको खेती
    जल–आनन्द थाम्न संकल्पको आली छ
    तयारी बेलैमा गरौँ अगोचर यात्राको
    पाशविधान यमको औधि कहाली छ

    प्रकाशित : आइतबार, २१ पुष २०८१ , ०१:३७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend