काठमाडौँ । आईसीसी यू–१९ महिला विश्वकप टी–२० क्रिकेट आजदेखि मलेसियामा शुरु हुँदैछ । पहिलो पटक विश्वकपमा पुगेको नेपाली महिला टिमले आज बंगलादेशसँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे शुरु हुँदैछ । सन् २००७ बाट अन्तर्राष्ट्रिय महिला क्रिकेट थालेको नेपालको यो पहिलो ठूलो सहभागीता हो ।
नेपालले बंगलादेशसँग एक पटकमात्र खेलेको छ । गत महिना मलेसियामा नै आयोजना भएको यू–१९ एसिया कपमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएको थियो ।
नेपालको समूहमा बंगलादेशसँगै अष्ट्रेलिया र स्कटल्याण्ड रहेका छन् । नेपालको लक्ष्य सुपर सिक्समा पुग्नु रहेको छ ।
त्यसका लागि नेपालले सुखद शुरुआत गर्नुपर्नेछ । नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्यान्डसँग र तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ । सबै खेल दिउँसो १२ः१५ बजे नै शुरु हुनेछन् ।
१६ टिम सहभागी
यो विश्वकपमा १६ राष्ट्र सहभागी छन् । चार समूहमा विभाजन गरी आपसमा खेलाई हरेक समूहका शीर्ष तीन टिम सुपर सिक्समा पुग्नेछन् ।
१६ बाट १२ मा झारिएपछि दुई समूह हुनेछ । पहिलो समूहमा पहिलो चरणको समूह ए र डीका शीर्ष तीन टिम हुनेछन् भने दोस्रो समूहमा समूह बी र सीका टिम रहने छन् ।
सुपर सिक्सका दुवै समूहका दुई टिम सेमिफाइनलमा पुग्नेछन् । एउटा समूहको शीर्ष टिमले दोस्रो समूहको दोस्रो टिमसँग सेमिफाइनल खेल्नेछ ।
फाइनल खेल आगामी २ फेब्रुअरीमा हुनेछ ।
यस्तो छ प्रारम्भिक समूह विभाजन–
समूह ‘ए’ मा साविक विजेता भारत, श्रीलंका, आयोजक मलेसिया र वेस्ट इन्डिज छन् ।
समूह ‘बी’ मा इङ्गल्याण्ड, पाकिस्तान, आयरल्याण्ड र अमेरिका रहेका छन् ।
समूह ‘सी’ मा दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, समोआ र नाजेरिया छन् ।
समूह ‘डी’ मा नेपालसँगै बंगलादेश, अष्ट्रेलिया र स्कटल्याण्ड रहेका छन् ।