logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

तिलोत्तमा नगरपालिकामा सेमिनार सभाहल निर्माण हुँदै

तिलोत्तमा नगरपालिकामा सेमिनार सभाहल निर्माण हुँदै


  • आइतबार, माघ २७ २०८१
  • 585
    SHARES

    लोकसारथि, माघ २७ । रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रशासनिक भवन पछाडिको खाली जमिनमा सेमिनार सभाहल निर्माण हुने भएको छ। नगरपालिकाको बजेट नीति कार्यक्रममा छुट्याइएको बजेट मार्फत सो सभाहल बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिनुभएको छ।

    नगरपालिकाको आन्तरिक स्रोतबाट निर्माण हुन लागेको सो सभाहलको लागत तीन करोड २६ लाख ५१ हजार रुपियाँ रहेको छ। कुल ६ हजार ३७७ वर्गफिट क्षेत्रफलमा बन्ने यस सभाहल निर्माणपछि नगरपालिकाका सबैजसो कार्यक्रम सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।

    फुलजोर निर्माण कम्पनी प्रालि, काठमाडौँको ठेक्कामा निर्माण भइरहेको सभाहल आगामी २०८२ को कार्तिक मसान्तभित्र सम्पन्न गर्ने औपचारिक समयसीमा तोकिएको छ। तर, निर्माण कम्पनीले २०८१ असार मसान्तभित्र नै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ। हालसम्म करिब ३० प्रतिशत काम सम्पन्न भइसकेको छ भने ट्रस निर्माण र छानो हाल्ने कार्य भइरहेको छ।

    सभाहल निर्माणका लागि तिलोत्तमा नगरपालिकाले प्रारम्भिक रूपमा तीन करोड ३१ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो। तर, बोलपत्र प्रक्रियापछि तीन करोड २६ लाख ५१ हजार रुपियाँमै निर्माण सम्पन्न हुने भएको छ। कार्यालय भवननजिकै निर्माण भइरहेको सभाहलका कारण नगरपालिकाका ठूला कार्यक्रमहरू बाहिर गर्नुपर्ने झन्झट अन्त्य हुने अपेक्षा गरिएको छ।

    प्रकाशित : आइतबार, २७ माघ २०८१ , ०७:४७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend