logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

हिउँदे झरी थामियो, किसान खुसी

हिउँदे झरी थामियो, किसान खुसी


  • आइतबार, फाल्गुन १८ २०८१
  • 832
    SHARES

    काठमाडौं, १८ फागुन – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले दुई दिनसम्म देशभर परेको हिउँदे झरी र हिमपात आजबाट कम भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    आज बिहान ६ बजेसम्मको रेकर्डअनुसार कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा हल्का वर्षा जारी रहेको छ। विभागको तथ्यांकअनुसार गत २४ घण्टामा देशभर हल्कादेखि मध्यम वर्षा भएको देखिएको छ।

    गत शुक्रबारदेखि सुदूरपश्चिमबाट सुरु भएको हिउँदे वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको थियो। वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार, यो प्रणाली गएरातिदेखि नेपालभरबाट बाहिरिइसकेको छ, जसका कारण आजबाट मौसममा सुधार आएको छ। उनले आज हिमपात र वर्षाको सम्भावना नरहेको जानकारी दिइन्।

    गत शुक्रबार र शनिबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको थियो। हिमपातका कारण केही जिल्लामा यातायात अवरुद्ध भएको थियो। विशेषगरी, मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ र रुकुमपूर्वको सिमानामा पर्ने लुकुम–पातिहाल्ना खण्डमा परेको बाक्लो हिमपातका कारण गाडी चल्न नसक्दा यात्रुहरू अलपत्र परेका थिए। शनिबार दिनभर हिउँ पन्छाएर तीनवटा बस तथा अन्य साना गाडीका यात्रुहरूको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए।

    यद्यपि, यो हिउँदे झरीले कतिपय यात्रुहरूलाई असुविधा पुर्‍याए पनि किसानहरू भने निकै खुसी छन्। लामो खडेरीका कारण मर्कामा परेका किसानहरूका लागि यो पानी वरदान सावित भएको छ। हिउँदे झरीले बालीनाली सप्रिने आशा गरेका किसानहरूमा उत्साह छाएको छ।

    प्रकाशित : आइतबार, १८ फाल्गुन २०८१ , ०१:५४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend