logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

नेपालमा १२५ भाषाका लागि साझा लेखन पद्धति निर्माण गर्न ‘दुबो’ फन्ट सार्वजनिक

नेपालमा १२५ भाषाका लागि साझा लेखन पद्धति निर्माण गर्न ‘दुबो’ फन्ट सार्वजनिक


  • शुक्रबार, चैत्र १ २०८१
  • 858
    SHARES

    लोकसारथि, ०१ चैत । नेपालमा बोलिने १२५ भाषाका लागि साझा लेखन पद्धति निर्माण गर्ने उद्देश्यले ‘दुबो’ नामक नयाँ फन्ट निर्माण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले गठन गरेको नेपालका भाषाको साझा लेखन पद्धतिको विकास अध्ययन कार्यदल र आवरण प्रकाशनबीचको सहमतिअनुसार फन्ट निर्माण सम्पन्न भएको हो।

    कलाकार रमेश पौडेलले कार्यदलको प्रतिवेदनका आधारमा ‘दुबो’ फन्टको डिजाइन तयार पारेका हुन्। मंगलबार आयोजित कार्यक्रममा उक्त फन्ट प्रतिष्ठानलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए। आवरण प्रकाशनका प्रबन्ध निर्देशक पौडेलका अनुसार २२४ क्यारेक्टर रहेको यो फन्ट देवनागरी र युनिकोडभन्दा फरक लेआउटमा तयार पारिएको भए पनि प्रयोगमा सहज छ।

    कार्यक्रममा भाषाविद्हरूसहित छलफल तथा प्रस्तुतीकरण गरिएको थियो। भाषाविद् प्रा. डा. माधव पोखरेलले लिपि नभएका तर नेपालमा बोलिने विभिन्न भाषाको लेखन पद्धतिमा देखिएको समस्या समाधान गर्न ‘दुबो’ फन्ट सहयोगी हुने विश्वास व्यक्त गरे।

    नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले विज्ञ कार्यदलको सहयोगमा नयाँ फन्ट सिर्जना गरिएको र यस प्रयास निकै उपयोगी हुने बताए। भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले नेपालमा बोलिने सबै भाषाको लेखनमा एकरूपता ल्याउन यो फन्ट प्रभावकारी हुने धारणा राखे।

    कार्यदलका संयोजक डा. अमृत योञ्जन तामाङले यो फन्टले नेपालका विभिन्न भाषाको लेखनलाई सहज बनाउने बताए। कार्यदलका सदस्य प्रा. भीमनारायण रेग्मीले फन्टका विशेषतासहित प्रस्तुतीकरण गरेका थिए।

    यस अवसरमा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी, प्रा. राम लोहनी, डा. कृष्णप्रसाद चालिसे, डा. कर्णाखर खतिवडा, दिलेन्द्र सुब्बा, डा. सूर्यप्रसाद यादव र राजनलाल जोशीले फन्टबारे जिज्ञासा राख्दै टिप्पणी गरे।

    प्रतिष्ठानले गठन गरेको अध्ययन कार्यदलको संयोजकमा डा. तामाङ, सहसंयोजकमा डा. विष्णुकुमार सिंजाली तथा सदस्यहरूमा प्रा. भीमनारायण रेग्मी, डा. तारामणि राई, अम्बरजङ लिम्बू, प्राज्ञ त्रैलोक्यमान बनेपाली र हंसवती कुर्मी रहेका छन्।

    यो फन्टले नेपालका भाषाहरूको संरक्षण र लेखनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

    प्रकाशित : शुक्रबार, १ चैत्र २०८१ , ०६:२७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend