जनकपुरधाम, चैत ५ – मधेश प्रदेश सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रक्रियाबाट अलग हुने घोषणा गरेको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार पत्रकार सम्मेलन गर्दै उक्त घोषणा गरेका हुन्।
मुख्यमन्त्री सिंहका अनुसार, परीक्षालाई निष्पक्ष र मर्यादित बनाउन प्रदेश सरकारले गोलाप्रथाबाट केन्द्राध्यक्षको नियुक्ति तथा परीक्षामा भेटिने मोबाइल जफत गर्ने निर्णय गरेको थियो। तर, परीक्षा समन्वय समितिहरूले उक्त निर्णय स्वीकार नगरेपछि मधेश सरकार एसईई परीक्षा प्रक्रियाबाट अलग हुने निर्णयमा पुगेको हो।
अनियमितता रोक्न अपनाइएका उपाय कार्यान्वयन नहुँदा असन्तुष्टि
मुख्यमन्त्री सिंहले विगतमा परीक्षामा अनियमितता, सेटिङ तथा चोरीका घटनाहरू व्यापक भएको उल्लेख गर्दै शिक्षा प्रणालीको गुणस्तर खस्किरहेको बताए। ‘परीक्षामा धेरै चलखेल हुने गरेको, उत्तर सेटिङको खेल हुने गरेको सबैलाई थाहा छ। यसले शिक्षा प्रणाली कमजोर बनाउँदै लगेको छ,’ उनले भने, ‘त्यसैले गोला प्रथाबाट केन्द्राध्यक्ष छनोट र परीक्षामा फेला परेका मोबाइल जफत गर्ने निर्णय गरिएको थियो। तर, हाम्रो निर्णय कार्यान्वयन भएन, त्यसकारण हामी अनैतिक गतिविधिको साक्षी बस्न सक्दैनौं।’
मधेश सरकारको निर्णयको अवज्ञा
गत २६ फागुनमा मधेश सरकारले परीक्षा प्रक्रियालाई निष्पक्ष बनाउन गोलाप्रथा अपनाउने निर्णय गरेको थियो। तर, मुख्यमन्त्री सिंहका अनुसार, जिल्ला परीक्षा समन्वय समितिहरूले सो निर्णयको अवज्ञा गर्दै केन्द्र भएका विद्यालयकै प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाउने प्रक्रिया अघि बढाएका थिए। यसै कारण प्रदेश सरकारले परीक्षा प्रक्रियाबाट अलग हुने घोषणा गरेको हो।
मधेश सरकारको यो निर्णयले प्रदेशभरि परीक्षा व्यवस्थापनमा नयाँ चुनौती थप्ने देखिन्छ। यसबारेमा संघीय सरकार र शिक्षा मन्त्रालयको धारणा आउन बाँकी छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
