logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

चट्याङ र असिनासँगै मौसम विषम हुँदै, विशेषज्ञको चेतावनी

चट्याङ र असिनासँगै मौसम विषम हुँदै, विशेषज्ञको चेतावनी


  • शुक्रबार, चैत्र २९ २०८१
  • 1.5K
    SHARES

    लोकसारथि, चैत्र २९ — लामो समयपछि चैतको अन्तिमतिर देखिएको वर्षा स्वाभाविक भए पनि यस वर्ष एप्रिल महिनामा औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको जलवायु विश्लेषणअनुसार एप्रिल महिनामा ५८.७ मिलिमिटर सरदर वर्षाको तुलनामा कम मात्रामा वर्षा हुने देखिएको हो।

    हाल देशका पहाडी भूभागहरूमा तीन दिनसम्म सक्रिय रहेको प्री-मनसुन गतिविधिका कारण केही राहत मिलेको भए पनि मौसममा उल्लेख्य सुधार नआएको भन्दै विभागले सतर्कता अपनाउन नागरिकलाई अपिल गरेको छ।

    यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङका कारण बझाङमा एक जनाको मृत्यु भइसकेको छ भने केही घाइते भएका छन्। वर्षाका कारण केही स्थानमा सडक अबरुद्धसमेत भएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए।

    प्रवक्ता केसीले पूर्वचेतावनीको बेवास्ता गर्दा विगतमा गम्भीर विपद्‌हरू घटित भएकाले अबदेखि मौसमसम्बन्धी सूचना गम्भीरतापूर्वक लिन सबैमा आग्रह गरे।

    विपद् विज्ञहरूको चेतावनी:
    विपद् जोखिम न्यूनीकरण विज्ञ डा. वसन्तराज अधिकारीका अनुसार अहिलेको प्री-मनसुन अवधिमा असिनापात, चट्याङ, हावाहुरी, र अत्यधिक वर्षाजस्ता घटना सामान्य जस्तै देखिए पनि यसले मानवीय तथा भौतिक क्षति निम्त्याउने सम्भावना रहन्छ। उनले चट्याङ प्रभावित क्षेत्रका नागरिकहरूलाई घरबाहिर ननिस्कन, बिजुलीको पोल वा रूखमुनि नबस्न सुझाव दिएका छन्।

    त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञानका प्राध्यापक डा. दीपक अर्यालका अनुसार अहिलेको वर्षाले डढेलो नियन्त्रण र वायु प्रदूषण न्यूनीकरणमा मद्दत गरे पनि पानी एकैपटक ठूलो मात्रामा पर्ने प्रवृत्तिले जोखिम बढाउने सम्भावना रहन्छ। यस्तै वर्षाले पहाडी क्षेत्रमा मकै लगाउने किसानलाई भने राहत मिलेको उनले बताए।

    मौसमी चक्रमा ‘विषमता’ देखिँदै:
    मौसमविद् विभूति पोखरेलका अनुसार पछिल्ला वर्षहरूमा वर्षा र तापक्रम दुबैमा अत्यधिक उतारचढाव देखिएको छ। सन् १९९० पछिका तथ्यांक हेर्दा वर्षा कम हुने र त्यो पनि एकैपटक धेरै मात्रामा हुने, चट्याङ बढी पर्ने, तापक्रम सरदरभन्दा बढी हुनेजस्ता प्रवृत्तिहरूले मौसमी चक्र अस्वाभाविक बन्दै गएको संकेत गर्छ।

    पोखरेलका अनुसार पछिल्लो मनसुनपछिको समय (अक्टोबर–नोभेम्बर २०२४) मा १९.६ प्रतिशत कम वर्षा भएको थियो भने २०२४ को हिउँद अवधिमा वर्षा ७९.४ प्रतिशतले घटेको थियो। यसैगरी प्री-मनसुन सुरु भएको मार्च २०२५ मा पनि २९.५ प्रतिशतले कम वर्षा भएको छ।

    यस अवस्थाले वायुमण्डलीय प्रदूषण बढाउनुका साथै अन्नबाली लगाउन कठिनाइ पैदा गरेको विवरणहरू आएका छन्। हालको समयलाई मध्यनजर गर्दै विज्ञहरूले मौसमसम्बन्धी पूर्वसूचनाहरू पालना गर्न र आवश्यक सतर्कता अपनाउन सबैलाई आह्वान गरेका छन्।

    प्रकाशित : शुक्रबार, २९ चैत्र २०८१ , ०८:०९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend