logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

नेपाली औषधिको बिक्रि बजारमा २० प्रतिशतले वृद्धि, उत्पादनकर्ताहरु उत्साहित

नेपाली औषधिको बिक्रि बजारमा २० प्रतिशतले वृद्धि, उत्पादनकर्ताहरु उत्साहित


  • शनिबार, बैशाख ६ २०८२
  • 728
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    नेपाली औषधि उत्पादक कम्पनीहरूले अघिल्लो वर्षको तुलनामा २० प्रतिशत बढी औषधि बिक्री गरेका छन् । नेपाल औषधि उत्पादक संघ (एपोन)ले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा २९ अर्ब ३६ करोड रुपैयाँ बराबरको औषधि बिक्री भएकोमा चालु आर्थिक वर्ष २०८०/८१ मा यो संख्या बढेर ३५ अर्ब २ करोड पुगेको हो ।

    संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले संघका उपाध्यक्ष सन्तोष बराल, कोषाध्यक्ष पृथ्वी राजभण्डारी, एपोन मार्केटिङ सर्कलका पदाधिकारी, तथा औषधि व्यवस्था विभागका पूर्व महानिर्देशक एवं वरिष्ठ सल्लाहकार राधारमण प्रसादको उपस्थितिमा ‘खुत्रुके तथ्यांक’ सार्वजनिक गरेका हुन् ।

    एपोनले सदस्य उद्योगहरूबाट आर्थिक वर्षको कारोबारको आधारमा तथ्यांक संकलन गर्दै आएको छ । संघका ७६ सदस्यमध्ये ६७ वटा उद्योगको तथ्यांक संकलन गरिएकामा ती उद्योगहरूले २०८०/८१ मा १९.८९ प्रतिशतले बढी कारोबार गरेको देखिएको हो ।

    एपोनका उपाध्यक्ष बरालका अनुसार नेपाली उद्योगहरूको औषधि बिक्रीमा भने ठूलो अन्तर देखा परेको छ । तथ्यांकअनुसार कुनै उद्योगले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ भने केहीले ६ करोड रुपैयाँ बराबर मात्र बिक्री गरेका छन् ।

    उनका अनुसार ६ वटा उद्योगले एक सय करोडभन्दा बढीको बिक्री गरेका छन् भने २ सय ५० करोडभन्दा बढी कारोबार गर्ने उद्योगको संख्या पाँच रहेको छ । १५ करोडभन्दा कम कारोबार गर्ने उद्योगहरू ४५ वटा छन्, जसले उत्पादन क्षमता तथा बजार पहुँचमा खाडल रहेको देखाउँछ ।

    संघका उपाध्यक्ष बरालले नेपाली औषधिको बजार बढ्नु सुखद संकेत भएको बताए । “बिक्री बढ्नु राम्रो कुरा हो,” उनले भने, “सरकारले केही नीतिगत तथा कानुनी सहयोग गर्ने हो भने नेपाली औषधि उद्योगको बजार हिस्सा छोटो समयमा नै ८० प्रतिशतभन्दा माथि पुग्न सक्छ ।”

    उद्योगीहरूले औषधि उत्पादनमा प्राविधिक सुधार, गुणस्तरमा वृद्धि, प्रतिस्पर्धी मूल्य तथा वितरण प्रणाली सुदृढ पार्दै लगेका कारण बजार विस्तार भएको जनाइएको छ । उनीहरूले आयातित औषधिमाथि निर्भरता घटाउन सरकारले नीति निर्माणमा उदारता देखाउनुपर्ने माग समेत राखेका छन् ।

    नेपाल औषधि उत्पादक संघ (एपोन)ले समय–समयमा यस्ता तथ्यांक सार्वजनिक गर्दै औषधि उद्योगको अवस्थाबारे जानकारी गराउँदै आएको छ । यो तथ्यांकले नेपाली औषधि उद्योगले भविष्यमा अझ ठूलो योगदान दिन सक्ने सम्भावना देखाएको छ ।

    प्रकाशित : शनिबार, ६ बैशाख २०८२ , ०४:२५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend