– लोकसारथि संवाददाता, काठमाडौं ।
एचआईभी (HIV) को उपचारतर्फको यात्रा एक महत्वपूर्ण मोडमा पुगेको छ। अष्ट्रेलियाको मेलबर्नस्थित पिटर डोहर्टी इन्स्टिच्युट फर इन्फेक्सन एन्ड इम्युनिटीका अनुसन्धानकर्ताहरूले एचआईभी भाइरसलाई लुकिएको अवस्थाबाट बाहिर ल्याउने नयाँ प्रविधी विकास गरेका छन्, जसले दीर्घकालीन औषधिको विकल्पका रूपमा रोगकै स्थायी समाधानको आशा देखाएको छ।
लुकेको एचआईभी पत्ता लगाउने ‘एलएनपी एक्स’ नामक प्रविधी
अनुसन्धानकर्ताहरूले कोरोना भाइरसविरुद्ध बनाइएका एमआरएनए (mRNA) खोप प्रविधीको प्रयोग गरी “एलएनपी एक्स” नामक विशेष बोसोको बबल (fat bubble) को विकास गरेका छन्, जसले एचआईभी लुकिएको सेतो रक्तकोशहरूमा एमआरएनए पुर्याउन सफल भएको छ। यसअघि यस्ता कोशिकामा एमआरएनए पुर्याउनु असम्भव मानिन्थ्यो।
यस प्रविधीले संक्रमित कोशिकाहरूलाई आदेश दिन्छ कि उनीहरूले आफूभित्र लुकेको एचआईभी भाइरसलाई सतहमा ल्याऊन्, जसले गर्दा इम्युन प्रणालीले यसलाई चिन्न र आक्रमण गर्न सक्ने बनाउँछ।

दीर्घकालीन औषधिको विकल्पमा सम्भावित उपचार
हाल संसारभर करिब ४ करोड मानिसहरू एचआईभी सङ्क्रमित छन्, जसले जीवनभर औषधि खानुपर्ने हुन्छ। ती औषधिहरूले भाइरसलाई निष्क्रिय बनाउने भए पनि पूरै निको पार्न सक्दैनन्। यो नयाँ प्रविधीले लुकेको भाइरसलाई सतहमा ल्याउन सके उपचार सम्भव हुने आशा दिइएको छ।
अझै थप अनुसन्धान आवश्यक
अनुसन्धानकर्ताहरूले भनेका छन् कि लुकेको भाइरस सतहमा ल्याउने मात्र पर्याप्त हुन्छ कि हुँदैन भन्ने कुरा अझै स्पष्ट छैन। सतहमा आएको भाइरसलाई शरीरको रोग प्रतिरोधात्मक प्रणालीले नष्ट गर्न सक्छ वा थप उपचार आवश्यक पर्छ भन्ने कुरा आगामी चरणको अनुसन्धानबाट थाहा हुनेछ।
एचआईभी उपचारमा क्रान्तिकारी युगको संकेत
यो प्रविधीले दीर्घकालीन औषधिमा आश्रित लाखौं बिरामीका लागि स्थायी समाधानको ढोका खोल्ने सम्भावना राख्छ। यदि सफल भयो भने, एचआईभीको उपचारमा यो प्रविधी वैज्ञानिक इतिहासकै एक महत्वपूर्ण फड्को सावित हुन सक्छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
