logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

सुत्केरीको मृत्युपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा तनाव, चिकित्सकमाथि हातपात

सुत्केरीको मृत्युपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा तनाव, चिकित्सकमाथि हातपात


  • शनिबार, असार २१ २०८२
  • 2.6K
    SHARES

    लोकसारथि संवाददाता, बुटवल ।
    दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ। मृतकको परिवार र स्थानीयवासीले चिकित्सकीय लापरवाहीको आरोप लगाउँदै आक्रोश पोखेका छन्।

    घोराही उपमहानगरपालिका–१८, मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षीया गुड्डी सुनारलाई शुक्रबार बिहान ४ बजे सुत्केरी गराउन प्रतिष्ठानमा भर्ना गरिएको थियो। बिहान १० बजेसम्म सामान्य डेलिभरी हुने बताइएको भए पनि सो सम्भव नहुँदा करिब १२ बजे अपरेसनमार्फत शिशुको जन्म गराइएको थियो। तर केही समयमै सुनारको मृत्यु भएको पुष्टि भएपछि उनका आफन्तहरू आक्रोशित बनेका हुन्।

    मृतकका आफन्तहरूले चिकित्सकीय लापरवाहीका कारण गुड्डी सुनारको मृत्यु भएको आरोप लगाउँदै अस्पताल परिसरमै प्रदर्शन गरेका छन्। आक्रोशित आफन्तहरूले अपरेसन वार्डमा प्रवेश गरी केही चिकित्सकमाथि हातपातसमेत गरेको अस्पताल प्रशासनले जनाएको छ।

    मृतकका ससुरा महावीर सुनारले आफ्नो माइली बुहारीको ज्यान चिकित्सकीय लापरवाहीकै कारण गएको भन्दै दोषी चिकित्सकमाथि कारबाही र क्षतिपूर्ति माग गरेका छन्। साथै, नवजात शिशुको उचित उपचार सुनिश्चित गर्नुपर्ने मागसमेत राखेका छन्। उनीहरूले माग पूरा नहुञ्जेल शव नउठाउने अडान राखेका छन्।

    यस घटनापछि अस्पताल प्रशासनले शान्तिपूर्ण संवादमार्फत स्थिति नियन्त्रणमा ल्याउने प्रयास थालेको जनाएको छ। प्रतिष्ठानका निर्देशक डा. जनार्दन पन्थीले सुत्केरीको मृत्युबारे आवश्यक विवरण संकलन भइरहेको जानकारी दिँदै भने, “सुत्केरीको स्वास्थ्य अवस्था, उपचार विधि र प्रक्रियाका आधारमा वस्तुगत तथ्य सार्वजनिक गरिनेछ।”

    स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू अस्पताल परिसरमा उपस्थित भई अवस्था शान्त बनाउन सक्रिय रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

    प्रकाशित : शनिबार, २१ असार २०८२ , ०८:३१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend