logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

पूर्व प्रधानमन्त्री ओलीको राहदानी रोक्का र बस्नेतमाथि मुद्दा तयारीप्रति आपत्ति : राष्ट्रिय युवा संघ नेपाल

पूर्व प्रधानमन्त्री ओलीको राहदानी रोक्का र बस्नेतमाथि मुद्दा तयारीप्रति आपत्ति : राष्ट्रिय युवा संघ नेपाल


  • मंगलबार, असोज १४ २०८२
  • 832
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    राष्ट्रिय युवा संघ नेपालले पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्का गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। संघका अध्यक्ष क्षितिज थेवेले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो निर्णय राजनीतिक पूर्वाग्रह र प्रतिशोधले प्रेरित भएको दाबी गरेका हुन्।

    संघले गत भाद्र २३ र २४ गतेको घटनाबारे जाँचबुझ आयोगले प्रारम्भिक चरणमै कुनै ठोस आधार वा प्रमाणबिनै राहदानी रोक्का गर्ने निर्णय गर्नु निष्पक्ष छानबिनको मापदण्ड विपरीत भएको आरोप लगाएको छ। विज्ञप्तिमा भनिएको छ, “हामी निष्पक्ष छानबिनका पक्षमा छौं, तर प्रारम्भमै अपराधी करार गर्ने ढंगका गम्भीर निर्णय आपत्तिजनक छन्।”

    संघले आफ्नो सम्पूर्ण जीवन नेपालका लागि समर्पण गरेका ओलीलाई प्रतिशोध साध्ने उद्देश्यले राहदानी रोक्का गरिएको ठहर गर्दै त्यसलाई “अराजनीतिक गतिविधि” को संज्ञा दिएको छ। साथै, नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा संघका पूर्व इन्चार्ज महेश बस्नेतमाथि मुद्दा चलाउने तयारीसमेत प्रतिशोधपूर्ण कदम भएको संघको दाबी छ।

    युवा संघले गत भाद्र २४ गतेको घटनामा संलग्नलाई कानूनी कारबाही नगर्ने गृह मन्त्रालयको निर्णयलाई समेत “दण्डहीनतालाई प्रश्रय दिने” भन्दै खारेजी गर्न माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, “यस प्रकारका निर्णयले कानूनी राज्यको उपहास हुन्छ, त्यसैले तुरून्त सच्याउनुपर्छ।”

    संघले जेन जेड आन्दोलनमार्फत बनेको वर्तमान सरकारको प्रमुख जिम्मेवारी फागुन २१ गते शान्तिपूर्ण, निष्पक्ष र भयरहित आम चुनाव सम्पन्न गर्नु रहेको स्मरण गराउँदै सरकारले आफ्नो मूल जिम्मेवारीबाट विमुख भई राजनीतिक प्रतिशोधमा तल्लीन हुन खोजेको आभास भएको चेतावनी दिएको छ।

    संघका अध्यक्ष क्षितिज थेवेले सरकारलाई सचेत गराउँदै भनेका छन्, “वर्तमान सरकार आफ्नो मूल दायित्व अर्थात् आम चुनाव सफलतापूर्वक सम्पन्न गराउन केन्द्रीत होस्, अन्यथा प्रतिशोधको बाटोमा लाग्दा सरकार आफैं प्रत्युत्पादक हुनेछ।”

    प्रकाशित : मंगलबार, १४ असोज २०८२ , ०३:१२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend