लोकसारथि संवाददाता, काठमाडौं ।
१८ असोज, काठमाडौं । लगातारको वर्षा र प्रतिकूल मौसमको अवस्थालाई मध्यनजर गर्दै गृह मन्त्रालयले बाढी, पहिरो र डुबानको जोखिममा रहेका जिल्लाहरूका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई २४ सै घण्टा कार्यालयमा उपलब्ध रहन निर्देशन दिएको छ।
मन्त्रालयले शुक्रबार सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई विपद् व्यवस्थापनमा पूर्ण रूपमा जुट्न औपचारिक पत्र पठाएको हो।
गृह मन्त्रालयका अनुसार, वर्षाका कारण राजमार्गमा रोकिएका सवारी साधनलाई सडक र मौसमको अवस्था हेरी सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने सहजीकरण गर्न स्थानीय प्रशासनलाई आदेश दिइएको छ। साथै, यात्रुहरू लामो समयदेखि बाटोमा रोकिएका अवस्थामा स्थानीय तह र संघ–संस्थासँग समन्वय गरी खानपानको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।
त्यस्तै, राजमार्गमा रोकिएका एम्बुलेन्सहरूलाई प्राथमिकताका साथ सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सहयोग गर्न र बाटोमा अलपत्र परेका गर्भवती महिलाहरूलाई नजिकको बर्थिङ सेन्टरसम्म पुर्याउने व्यवस्था मिलाउन गृह मन्त्रालयले निर्देशन दिएको छ।
यसबाहेक, बाढी र पहिरोको उच्च जोखिम भएका स्थानमा बसोबास गरिरहेका व्यक्ति तथा परिवारहरूलाई नजिकको विद्यालय वा खुला स्थानमा स्थानान्तरण गर्न स्थानीय पालिकासँग समन्वय गर्न समेत भनिएको छ।
मन्त्रालयले देशभरका सबै प्रशासनिक र सुरक्षात्मक निकायहरूलाई उच्च सतर्कता अपनाउन र नागरिकको ज्यान तथा सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै तयारी अवस्थामा रहन आह्वान गरेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
