लोकसारथि संवाददाता, काठमाडौं ।
दसैंको समयमा सक्रिय भएको मनसुन र पश्चिमी वायुको प्रभावले देशभर ठूलो विपत्ति निम्त्याएको छ। लगातारको भारी वर्षाका कारण बाढी, डुबान र पहिरोले जनजीवन अस्तव्यस्त बनेको छ । देशभर कम्तीमा ५२ जनाको मृत्यु भएको छ भने इलाममा मात्र ३७ जनाको मृत्यु भएको पुष्टि भएको छ। त्यस्तै, सुनसरीमा १,३०० भन्दा बढी घर डुबानमा परेका छन् ।
सुनसरी : धरानदेखि भोक्राहा सम्म जलमग्न, सयौं विस्थापित
सुनसरीका धरान, इटहरी, इनरुवा, बराहक्षेत्र, रामधुनी र भोक्राहा नरसिंह क्षेत्रमा बाढी र डुबानले ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार, विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन् र सयौं स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।
कोशी लोकमार्गको धरान–भेडेटार र धरान–२० विष्णुपादुका–सागुरीगढी सडकखण्डमा पहिरोका कारण आवागमन रोकिएको छ। मधुवन प्रहरी चौकीमा समेत पानी पसेर क्षति पुगेको प्रहरीले जनाएको छ।
इनरुवामा मात्रै करिब २०० घर प्रभावित छन् — इनरुवा–९ मा १२० र इनरुवा–१० मा ७० घर डुबानमा परेका छन्। जाल्पापुर क्षेत्रमा ३०० घर डुबानमा परेका छन् भने ६० घरका बासिन्दा आफन्तकोमा आश्रय लिएर बसेका छन्।
बराहक्षेत्र नगरपालिकामा करिब १६० घर डुबानमा परेका छन्। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार, बराहक्षेत्र–८ दोभान खोलाले ४५ वर्षीय नवराज उरावलाई बगाएको छ, उनको अवस्था अहिलेसम्म पत्ता लागेको छैन।
भोक्राहा नरसिंह गाउँपालिका–५ मा ३०० घर डुबानमा परेका छन्। उद्धारका लागि प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालित भई टपरा, डोरी र ट्युब प्रयोग गरेर उद्धार कार्य गरिएको छ। त्यस्तै, भोक्राहाकै कार्डियो न्युरो अस्पतालमा पनि पानी पसेपछि चिकित्सकहरू बोटमार्फत अस्पतालभित्र पुर्याइएका थिए।
रामधुनी नगरपालिका–६ र ७ को पंचायन क्षेत्रमा २० घर डुबानमा परेका छन् भने इटहरी–५ का सुकुम्बासी टोलका १० घर जलमग्न भएका छन्।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार, “पानी घटेपछि मात्रै क्षतिको यकिन विवरण आउन सक्छ,” भन्दै उनले पीडितहरूलाई राहत वितरण सुरु गर्न तयारी भइरहेको बताए।
इलाम : बाढी–पहिरोले ३७ को मृत्यु, १ बेपत्ता
सबैभन्दा ठूलो जनधनको क्षति इलाममा भएको छ। जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी लक्ष्मी भण्डारीका अनुसार, आइतबार साँझसम्म ३७ जनाको मृत्यु र १ जना बेपत्ता भएका छन्।
इलामका माईजोगमाई, देउमाई, इलाम नगरपालिका, सन्दकपुर, माङसेवुङ र सूर्योदय क्षेत्र सबैभन्दा बढी प्रभावित छन्।
डीएसपी भण्डारीका अनुसार, घटनास्थल बिकट भएकाले प्रहरी टोली पुग्न नसक्दा पूर्ण विवरण लिन कठिनाइ भएको छ।
मृतकहरूमा स्थानीयसहित पाँचथर र दोलखाबाट दसंैमा पाहुना आएका नागरिक पनि रहेका छन्। मृतकहरूको नामावली जिल्ला प्रशासन कार्यालय इलामले सार्वजनिक गरेको छ, जसमा सुरेश लिम्बु, मनमाया क्षेत्री, रमिका क्षेत्री, दीप बस्नेत, भवन्ती बस्नेत, समिर देजाली, प्रवीण तामाङ, अनु तामाङ, प्रिन्सिका मगर, रोशन लिम्बु, बबिसा राई, दीपक लिम्बु, ऋषिका लिम्बु, सञ्जन लिम्बु, कृष्णमाया लिम्बु, माया लिम्बु, नेहा राई लगायतका नागरिक रहेका छन्।
माईजोगमाई गाउँपालिका–६ ओडारे, माईजोगमाई–३ उयाख र सन्दकपुर–१ मा समेत ठूलो जनधनको क्षति भएको छ। त्यहाँका मिमबहादुर राई, हरिमाया राई, देवी राई, शेखर राई, सारादा सेङदाई, तारादेवी राई, कृष्ण मगर, किरण थेबे, मनमाया थेबे, मुस्सा थेबे, बमलाल सोडमी, बुद्धमाया सोडमी, धनबल सोडमी, सरला सोडमी र प्रकृति सोडमीको मृत्यु भएको पुष्टि भएको छ।
भौतिक संरचनामा ठूलो क्षति
इलामका विभिन्न स्थानमा पुल र सडकहरू बगाएका छन्। इलाम नगरपालिका–९ र ११ जोड्ने पुवा खोलाको नयाँ बेलिब्रिज र माईजोगमाई–४ र इलाम नगरपालिका–१० जोड्ने जोगमाई खोलाको बेलिब्रिज पूर्णरूपमा बगेका छन्।
देउमाई र माङ्सेबुङलाई जोड्ने पुल पनि बाढीले बगाएको छ। अन्य धेरै पुलहरू उच्च जोखिममा छन्।
उद्धार र राहत
कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार, प्रदेशभर बाढी–पहिरोमा फसेका ५३२ जनाको उद्धार गरी अस्पताल पठाइएको छ।
कोशी प्रदेशमा १६ घर पूर्ण रूपमा नष्ट, ५,९२५ घरपरिवार विस्थापित र २६,९८४ जना प्रभावित भएका छन्।
सडक सञ्जाल अवरुद्ध, विद्युत् र सञ्चार अवरोधका कारण उद्धार कार्यमा कठिनाइ आएको प्रहरीले जनाएको छ। स्थानीय तहहरूले अस्थायी आवास र राहत व्यवस्थापनका कार्य अघि बढाएका छन्।
सरकारसँग राहत र पुनःस्थापना माग
स्थानीय प्रशासन, सुरक्षा निकाय र नागरिक समाजले बाढी–पहिरोबाट प्रभावित र विस्थापित परिवारलाई तत्काल राहत, स्वास्थ्य सहयोग र पुनःस्थापना गर्न सरकारसँग आग्रह गरेका छन्।
नेपालका विभिन्न जिल्लामा फैलिएको यो प्राकृतिक विपत्तिले दसैंको उत्सवमय माहोललाई शोकमा परिवर्तन गरेको छ। प्रभावित क्षेत्रका बासिन्दा अझै पनि उद्धार र सहयोगको प्रतीक्षामा छन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
