logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

नौ उद्योगले तिरे प्राधिकरणलाई बक्यौता, नतिर्नेकाे लाइन काटिने तयारी : कार्यकारी निर्देशक सिलवाल

नौ उद्योगले तिरे प्राधिकरणलाई बक्यौता, नतिर्नेकाे लाइन काटिने तयारी : कार्यकारी निर्देशक सिलवाल


  • सोमबार, कार्तिक ३ २०८२
  • 923
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले हालसम्म नौ उद्योगले बक्यौता रकमबाफतको किस्ता भुक्तानी गरेको जानकारी दिनुभएको छ। बक्यौता तिर्न उद्योगीहरू यसपटक विगतको तुलनामा बढी सकारात्मक र जिम्मेवार बनेको कार्यकारी निर्देशक सिलवालको भनाइ छ।

    नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सिलवालले भने —

    “बक्यौता रकम बुझाउन उद्योगीहरूलाई कात्तिक २ गतेसम्म समय दिइएको छ, त्यसैले आज पनि धेरै उद्योगीहरू सम्पर्कमा आएका छन्।”

    उहाँका अनुसार हालसम्म बक्यौता बुझाउने उद्योगहरूमा —
    हामा आइरन एण्ड स्टिल, लक्ष्मी स्टिल, सर्वोत्तम सिमेन्ट, हुलास स्टिल इन्डस्ट्री, अशोक स्टिल उद्योग, सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट, नव नेपाल प्लास्टिक इन्डस्ट्रिज र शुभश्री अग्नी सिमेन्ट रहेका छन्।

    यी सबै उद्योगहरूले प्राधिकरणसँगको डेडिकेटेड ट्रंक लाइनको बक्यौता किस्ता रकम बुझाएका हुन्।

    सिलवालका अनुसार उद्योगीहरूले किस्ता अवधि बढाउन आग्रह गरे पनि, अधिकांशले रकम तिर्ने प्रतिबद्धता जनाएका छन्।

    “यदि कात्तिक २ भित्र बक्यौता नतिरेमा, प्राधिकरणको सञ्चालक समितिको बैठकबाट निर्णय गरेर लाइन काट्ने प्रक्रिया अघि बढाइने छ,” उहाँले चेतावनी दिनुभयो।

    तिहारमा विद्युत् आपूर्तिमा समस्या छैन

    सिलवालले आगामी तिहारमा देशभर विद्युत् आपूर्तिमा कुनै समस्या नहुने स्पष्ट पार्नुभयो।

    “नेपालमा अहिले आवश्यकभन्दा बढी विद्युत् उपलब्ध छ, जसकारण उपभोक्ताले चाहेजति बिजुली प्रयोग गर्न सक्छन्,” उहाँले भन्नुभयो।

    हाल नेपाल विद्युत् प्राधिकरणले भारतलाई करिब एक हजार मेगावाट विद्युत् निर्यात गरिरहेको छ।

    सिलवालका अनुसार नेपालमा हाल लोडसेडिङको कुनै सम्भावना छैन।
    कहिलेकाहीँ केही समयका लागि आपूर्ति अवरुद्ध भए पनि,

    “त्यो लोडसेडिङ होइन, केवल प्राविधिक समस्या हो,” उहाँले स्पष्ट गर्नुभयो।

    प्रकाशित : सोमबार, ३ कार्तिक २०८२ , ०१:०८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend