logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गमा यात्रु अलपत्र, उद्धारको माग

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गमा यात्रु अलपत्र, उद्धारको माग


  • बिहिबार, माघ १५ २०८२
  • 689
    SHARES

    लोकसारथि संवाददाता, बुटवल।

    काठमाडौंबाट डोल्पातर्फ जाँदै गरेका यात्रुहरू भारी हिमपातका कारण बीच बाटोमै अलपत्र परेका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्व–बागलुङ खण्डमा परेको हिमपातका कारण दर्जनौँ सवारी साधन र तीमा सवार यात्रुहरू रोकिएका हुन् ।

    उक्त सडकखण्डमा अचानक परेको हिमपात र चिसोका कारण यात्रुहरूले ठूलो सास्ती भोग्नु परेको छ । अत्यधिक चिसोका कारण केही यात्रुको स्वास्थ्यमा समेत समस्या देखिन थालेको बताइएको छ । यात्रुहरू नजिकैका साना पसलमा आगो तापेर बस्न बाध्य छन् भने केही असहाय र अशक्त यात्रु भने गाडीमै बस्नुपरेको अवस्था छ । कतिपय स्थानमा खाना र न्यानोको समेत अभाव रहेको यात्रुहरूको गुनासो छ ।

    घण्टौँसम्म पनि उद्धारका लागि सम्बन्धित निकायबाट प्रभावकारी पहल नभएको भन्दै यात्रुहरूले असन्तुष्टि जनाएका छन् । उनीहरूले तत्काल उद्धार, खानपिनको व्यवस्था, न्यानो कपडा तथा स्वास्थ्य सहयोगको माग गरेका छन् । हिउँमा फसेका अधिकांश यात्रुहरू डोल्पाका बासिन्दा रहेको जनाइएको छ ।

    यसैबीच, रुकुम पूर्व प्रशासनका अनुसार रुकुम पूर्व क्षेत्रमा अलपत्र परेका सवारी साधन र यात्रुहरूलाई बुधबार नै सुरक्षाकर्मी र स्थानीय तहको समन्वयमा उद्धार गरी बागलुङतर्फ पठाइएको थियो । हिउँ पन्छाउन डोजर प्रयोग गरी बाटो आंशिक रूपमा खुलाइएको र सरकारी सवारी साधनमार्फत यात्रुहरूलाई रुकुम पूर्वको सिमानासम्म सुरक्षित रूपमा पुर्‍याइएको प्रशासनको भनाइ छ । रुकुम पूर्व पार गरिसकेका यात्रुहरू भने बागलुङ खण्डमा पुनः रोकिएको अवस्था देखिएको छ ।

    बागलुङ प्रशासनले पनि हिमपात धेरै बाक्लो नभए पनि सडक अत्यन्त चिप्लो भएका कारण केही सवारी साधन बीच बाटोमै रोकिएको जनाएको छ । हिउँ पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको र मौसम अनुकूल भए आजै सडक पूर्ण रूपमा खुलाइ यात्रुहरूलाई गन्तव्यतर्फ पठाइने तयारी भइरहेको जानकारी दिइएको छ ।

    स्थानीय प्रशासनका अनुसार दुई जिल्लाबीच निरन्तर समन्वय भइरहेको छ भने यात्रुको सुरक्षा र सहज आवागमनका लागि आवश्यक सबै उपाय अपनाइने जनाइएको छ ।

    प्रकाशित : बिहिबार, १५ माघ २०८२ , ११:३४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend