logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

बैतडी बस दुर्घटनामा ज्यान गुमाएका सात जनाको एकै आँगनबाट अन्त्येष्टि, गाउँ शोकसागरमा

बैतडी बस दुर्घटनामा ज्यान गुमाएका सात जनाको एकै आँगनबाट अन्त्येष्टि, गाउँ शोकसागरमा


  • शनिबार, माघ २४ २०८२
  • 858
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    बैतडीको पुर्चौडी नगरपालिका–७ बडूगाउँ स्थित मोडमा बिहीबार अपराह्न जन्ती बोकेको बस दुर्घटना हुँदा ज्यान गुमाएका केटा पक्षका सात जनाको पार्थिव शरीर आज एकै आँगनबाट उठाइएको छ। एउटै परिवारका सात सदस्यको सामूहिक अन्त्येष्टिले गाउँ नै शोकसागरमा डुबेको छ।

    दुर्घटनामा कुल १३ जनाको ज्यान गएको थियो। मृतकमध्ये बझाङको बित्थडचिर गाउँपालिका–७ लगुणासा निवासी नरेन्द्रराज जोशी, विष्णुदत्त जोशी, वसन्तराज जोशी, केशवराज जोशी, अशोकराज जोशी, किसनदत्त जोशी र विसनदत्त जोशी रहेका छन्। आज उनीहरूको एकै चिहानमा सामूहिक अन्त्येष्टि गरिँदै छ।

    सहोदर दाजुभाइदेखि बाबुछोरासम्म एउटै दुर्घटनामा

    मृतक नरेन्द्रराज जोशी र विष्णुदत्त जोशी सहोदर दाजुभाइ हुन्। नरेन्द्र बित्थडचिर–७ का वडा सचिव थिए भने विष्णुदत्त स्थानीय महादेव माध्यमिक विद्यालयमा अङ्ग्रेजी शिक्षक का रूपमा कार्यरत थिए।

    उनीहरूकै भतिजा वसन्तराज जोशी पनि सोही दुर्घटनामा ज्यान गुमाएका छन्।

    यसैगरी, ४० वर्षीय केशवराज जोशी र उनका एकमात्र छोरा अशोकराज जोशी पनि दुर्घटनामा परेका थिए। अशोकराजको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

    गम्भीर घाइते भएका सहोदर दाजुभाइ किसनदत्त र विसनदत्त जोशी लाई उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै निधन भएको जनाइएको छ।

    एकै घरका सात शव उठ्दा गाउँमा रुवाबासी

    आज बिहान एकै घरको आँगनबाट सात वटा शव एकैपटक उठाउँदा गाउँमा रुवाबासी चलेको थियो। परिवारका सदस्य, आफन्त र गाउँलेहरू शोकले स्तब्ध बनेका छन्।

    स्थानीयवासीका अनुसार एउटै परिवारका सात जनाको एकैसाथ अन्त्येष्टि हुन लागेको दृश्यले बडूगाउँ मात्र होइन, बझाङसहित सिंगो सुदूरपश्चिम नै शोकमा डुबेको छ।

    सुदूरपश्चिमभर शोकको लहर

    जन्ती बोकेको बस दुर्घटनाले सामाजिक, शैक्षिक तथा प्रशासनिक क्षेत्रमा समेत गहिरो क्षति पुगेको स्थानीयको भनाइ छ। वडा सचिव र शिक्षकजस्ता जिम्मेवार व्यक्तिहरूको असामयिक निधनले समुदायमा ठूलो रिक्तता सिर्जना भएको छ।

    यो हृदयविदारक घटनापछि मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै सामाजिक सञ्जाल र स्थानीय तहमा शोक सन्देशहरू व्यक्त भइरहेका छन्।

    दुर्घटनाको विस्तृत कारणबारे भने सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको जनाइएको छ।

    प्रकाशित : शनिबार, २४ माघ २०८२ , ०३:३० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend