ब्रह्मलीन महापुरुष महामनीषी Swami Vivekananda Saraswati को २०८३ जेठ ९ गते साँझ देहावसान भएको छ । बुटवल नयाँमिलस्थित दुर्गा–वैदिक–परमानन्द सन्न्यास आश्रममा रहँदै आएका उहाँले साँझ ५ बजेर ७ मिनेट जाँदा अन्तिम श्वास लिनुभएको हो ।
गुल्मीका खेमराज गैरेका रूपमा जन्मिएका उहाँ बाल्यकालदेखि नै वैराग्यभावले प्रेरित हुनुहुन्थ्यो । स्वामी परमानन्द सरस्वतीबाट ब्रह्मचर्य दीक्षा लिएपछि ‘खिमानन्द ब्रह्मचारी’का रूपमा परिचित बन्नुभएको उहाँले पछि स्वामी सत्यप्रकाशानन्द सरस्वतीबाट सन्न्यास दीक्षा ग्रहण गरी ‘स्वामी विवेकानन्द सरस्वती’ नाम धारण गर्नुभएको थियो ।
स्वर्गद्वारी परम्पराका झ्याम्पाली महाराज, योगसिद्ध छविलाल गुरु तथा वृन्दावनका वेदान्ताचार्य स्वामी अखण्डानन्द सरस्वतीजस्ता महापुरुषहरूको सान्निध्यले उहाँको आध्यात्मिक जीवन अझ परिष्कृत बनेको बताइन्छ । सालिमे दह र शिवधुरी क्षेत्रमा लामो समय तपस्या गर्नुभएका उहाँ पछि गुरुको आज्ञाअनुसार जनसमुदायमा धर्मप्रचारमा सक्रिय हुनुभएको थियो ।
वेदान्त, भागवत र संस्कृत शिक्षाको क्षेत्रमा उहाँको योगदान विशेष मानिन्छ । उहाँको प्रवचनकला सरल र प्रभावकारी भएकाले सामान्य मानिससमेत वेदान्तका गूढ विषय बुझ्न सक्षम हुने भक्तजन बताउँछन् । उहाँले देशका विभिन्न स्थानमा गुरुकुल, संस्कृत विद्यालय तथा धार्मिक संस्थाको स्थापना र संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
रूपाकोट गुल्मीको परमानन्द संस्कृत गुरुकुल, देवघाट तथा रुपन्देहीस्थित दुर्गा वैदिक परमानन्द संस्कृत गुरुकुललगायत संस्थाहरू उहाँकै नेतृत्व र प्रेरणामा सञ्चालनमा आएका हुन् । गुल्मी, बाग्लुङ, पाल्पा, रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायत जिल्लामा उहाँका हजारौं अनुयायी रहेका छन् ।
केही समयदेखि अर्बुद रोगबाट पीडित भए पनि उहाँले व्यक्तिगत कष्टप्रति खास चासो नदिएको निकटस्थहरू बताउँछन् । भक्तजनको आग्रहपछि मात्रै उपचारका लागि चिकित्सकको सम्पर्कमा पुग्नुभएको थियो ।
स्वामी विवेकानन्द सरस्वतीको महाप्रयाणसँगै नेपाली सनातन आध्यात्मिक क्षेत्रले एक विद्वान् सन्त, साधक र संस्कृत शिक्षाका अभियन्ता गुमाएको श्रद्धालुहरूले बताएका छन् । उहाँप्रति विभिन्न धार्मिक तथा शैक्षिक संस्थाहरूले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
