logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प, १५ जना घाइते

ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प, १५ जना घाइते


  • मंगलबार, माघ ८ २०८१
  • 637
    SHARES

    लोकसारथि, ८ माघ । ताइवानको दक्षिणी क्षेत्रमा मङ्गलबार बिहान ६.४ रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्प नेपाली समयअनुसार राति १ः४५ बजे गएको हो। भूकम्पको केन्द्रबिन्दु युजिङ सहरबाट १२ किलोमिटर उत्तरमा रहेको बताइएको छ।

    भूकम्पका कारण १५ जना घाइते भएका छन्, जसमा एक बालक समेत छन्। ताइवान फायर डिपार्टमेन्टका अनुसार सबै घाइतेहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। ताइनान सहरको नान्क्सी जिल्लामा भत्किएको घरको भग्नावशेषबाट उद्धार गरिएका ६ जना घाइते भएका छन्।

    भूकम्पका कारण राज्य राजमार्गमा रहेको झुवेई पुलमा पनि क्षति पुगेको छ। तर, अहिलेसम्म कसैको मृत्यु भएको खबर भने आएको छैन।

    ताइवानमा बारम्बार भूकम्प किन जान्छ?

    ताइवान प्रशान्त महासागरको रिंग अफ फायरमा अवस्थित छ। यो दुई टेक्टोनिक प्लेटको बीचमा रहेको कारण भूकम्पको अत्यन्त संवेदनशील क्षेत्रमा पर्छ।

    यसअघि सन् २०२३ को अप्रिलमा ताइवानको हुआलियन सहरमा ७.४ म्याग्निच्युडको भूकम्प जाँदा १३ जनाको मृत्यु भएको थियो भने एक हजारभन्दा बढी घाइते भएका थिए। सन् २०१६ मा भएको अर्को भूकम्पमा एक सयभन्दा बढीको ज्यान गएको थियो।

    ताइवानको भूगर्भीय संरचनाका कारण भूकम्पका सम्भावना उच्च हुने भएकाले भूकम्पीय सुरक्षामा विशेष ध्यान दिन आवश्यक रहेको विशेषज्ञहरूले बताउँदै आएका छन्।

    प्रकाशित : मंगलबार, ८ माघ २०८१ , ०९:४२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend