logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

महाभारत पर्वतशृङ्खलामा लागेको डढेलो: सुरक्षाकर्मी परिचालन

महाभारत पर्वतशृङ्खलामा लागेको डढेलो: सुरक्षाकर्मी परिचालन


  • शुक्रबार, माघ ११ २०८१
  • 650
    SHARES

    लोकसारथि, ११ माघ । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रमा महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ। तीन दिनदेखि लागिरहेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन, जसले गर्दा स्थानीय प्रशासन र बासिन्दामा चिन्ता बढेको छ।

    जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सरोकारवालासँग छलफल गरी सबै सम्बन्धित निकायका जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ। डढेलो बेथानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका-१ थाम लेकडाँडामा फैलिएको छ।

    डढेलोको जोखिम बढेकाले पर्यटकीय क्षेत्र नारायणस्थानमा प्रवेशमा रोक लगाइएको छ। स्थानीय प्रशासनका अनुसार डढेलोका कारण नारायणस्थान मन्दिरसहित वडा नं. १, २, ३ र ५ का केही क्षेत्रसमेत जोखिममा परेका छन्। बेथानचोक गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई डढेलो नियन्त्रण नभएसम्म वन क्षेत्रमा प्रवेश नगर्न आग्रह गरेको छ।

    गाउँपालिका अध्यक्ष भगवान अधिकारीका अनुसार, डढेलो नियन्त्रण नभएसम्म वन क्षेत्रबाट टाढा रहन सर्वसाधारणलाई सूचना जारी गरिएको छ। स्थानीय सरकार, प्रहरी, नेपाली सेना लगायतका निकाय डढेलो नियन्त्रणका लागि परिचालित छन्। बस्ती नजिक डढेलो फैलिन नदिन र जोखिम देखिए तत्काल स्थानान्तरण गर्ने उपायसमेत अपनाइएको छ।

    प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पुस ८ गते दिउँसो २ बजे वनको भीर क्षेत्रबाट डढेलो सुरु भएको जानकारी दिए। नेपाली सेना र प्रहरीको टोली डढेलो नियन्त्रणका लागि खटिएको उनले बताए।

    डिभिजन वन कार्यालय प्रमुख कृष्णबहादुर थापाका अनुसार, डढेलो नियन्त्रणका लागि स्थिति अनुगमन गर्न टोली खटाइएको छ। जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको संयुक्त बैठकले डढेलो नियन्त्रण सामग्री सुरक्षाकर्मीलाई उपलब्ध गराउने निर्णय गरेको छ।

    साथै, डिभिजन वन कार्यालयको संयोजकत्वमा १३ वटै स्थानीय तह, सुरक्षा निकाय र वन उपभोक्ता महासङ्घसँग समन्वय गरी डढेलो लगाउने व्यक्तिको पहिचान गरी कानूनी कारबाही गर्न निर्देशन दिइएको छ।

    प्रकाशित : शुक्रबार, ११ माघ २०८१ , ०४:३६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend