logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

अछाममा दुई किशोरी मृत फेला, अनुसन्धानका लागि दुई किशोर पक्राउ

अछाममा दुई किशोरी मृत फेला, अनुसन्धानका लागि दुई किशोर पक्राउ


  • सोमबार, माघ १४ २०८१
  • 897
    SHARES

    लोकसारथि, माघ १४ । अछामको ढकारी गाउँपालिका–१ मा दुई किशोरी मृत अवस्थामा फेला परेका छन्। घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको पहिचान भने सार्वजनिक गरिएको छैन।

    बाख्रा चराउन गएकी किशोरी मृत फेला
    ढकारी–८ पल्साताका १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईश्वरी खड्काको शव छिन्ने ओढार भन्ने स्थानमा फेला परेको हो। नातामा उनीहरू फुपू–भदैनी रहेको प्रहरीले जनाएको छ।

    गत शुक्रबार (माघ ११) दिउँसो बाख्रा चराउन घरबाट निस्किएका उनीहरू बेलुका घर नफर्किँदा परिवारले खोजी सुरु गरेका थिए। खोजीका क्रममा शनिबार (माघ १२) छिन्ने ओढारमा उनीहरू मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका इन्स्पेक्टर टेकबहादुर देउवाले जानकारी दिए।

    घटनाको कारण खुल्न बाँकी
    घटनास्थल ढुंगाले भरिएको जंगल क्षेत्र भएको र शव फेला परेको स्थानमाथि भीर रहेको प्रहरीको भनाइ छ। शव नजिकै भीरबाट ढुंगा खसेको देखिए पनि यो घटना दुर्घटना हो वा हत्या भन्ने विषयमा अहिले कुनै निष्कर्षमा नपुगेको प्रहरीले जनाएको छ।

    किशोरीहरूको शव पोष्टमार्टमका लागि बाँकेको भेरी अस्पताल पठाइएको छ। पोष्टमार्टम रिपोर्टपछि मात्रै घटनाको स्पष्ट कारण थाहा हुने इन्स्पेक्टर देउवाले बताए।

    अनुसन्धान तीव्र
    घटनाको सूक्ष्म अनुसन्धानका लागि नेपालगन्जबाट तालिमप्राप्त कुकुरसमेत ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरी भण्डारीले किशोरीहरूको टाउकोमा चोट देखिएको र लडेको वा घिस्रिएको अवस्था देखिएको बताए।

    अनुसन्धानका लागि प्रहरीले दुई किशोरलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरू २० वर्षभन्दा मुनिका स्थानीय हुन्। डीएसपी भण्डारीले शंका लागेर सोधपुछका लागि पक्राउ गरिएको र घटनाबारे विस्तृत जानकारी पोस्टमार्टम रिपोर्ट र अनुसन्धानपछि मात्रै आउने बताए।

    शव फेला परेको स्थानमा पहिरो र ढुंगाको अवस्था देखिएकाले घटना प्राकृतिक हो वा मानवीय कारणले भएको हो भन्ने विषयमा प्रहरीको अनुसन्धान जारी छ।

    प्रकाशित : सोमबार, १४ माघ २०८१ , ०५:२८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend