लोकसारथि, माघ २५ । कोरोना महामारीपछि अनलाइन शिक्षा र व्यापारले नेपालमा उल्लेखनीय वृद्धि गरेको छ। सामाजिक सञ्जालमार्फत विभिन्न बिजनेस अकाउन्ट खोल्नेहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ। यद्यपि अनलाइन कारोबारले सहजता र समयको बचत गरे तापनि यससँगै ठगीका घटनाहरू पनि उत्तिकै बढेका छन्।
नेपालमा अनलाइन किनमेल गर्दा उपभोक्ताहरूले भोग्दै आएका प्रमुख समस्याहरूमा —मागिएको वस्तुको सट्टा फरक सामान पठाइनु, बिग्रिएको वा ड्यामेज सामान पठाइनु, सामान फिर्ता गर्न नसकिने अवस्था, सामान गुणस्तरहीन हुनु, र सप्लायरले गुनासोको जवाफ नदिनु आदि समावेश छन्। यी समस्याहरूले इमानदारीपूर्वक अनलाइन व्यापार गर्नेहरूलाई समेत असर पुर्याउन सक्ने देखिएको छ।
सेवामाण्डु अनलाइनको ठगीको अखडा
सेवामाण्डु नामक अनलाइन प्रोफाइलमार्फत एक जनाले इलेक्ट्रिक चुलो अर्डर गरे। तेस्रो दिनमा सामान डेलिभरी भयो तर खोल्दा चुलोको एक पिन जस्तो पुर्जा फुक्लिएको अवस्थामा थियो। थप जाँच गर्दा कोयलको नट ढिला भेटियो र चुलोको पछाडिको भाग पनि सम्म परेको थिएन । यसको दायाँतिर अगाडिको भाग कुच्चिएको थियो । प्लेन (सम्म परेको) भुइँ वा टेबलमा राख्दा राम्ररी नअडिने हल्लिरहने अवस्थामा थियो । ग्राहकले भिडियो बनाएर सप्लायरलाई पठाएपछि सरी भन्ने जवाफ आयो र दुई दिनभित्र सामान एक्सचेन्ज गर्ने वाचा व्यक्त गरे। तर सात दिनसम्म पनि सामान फिर्ता भएन। ग्राहकले चौथो दिनमा पुनः सन्देश पठाउँदा सामान्य जवाफ आयो भोलि त पक्का पाउनुहुन्छ ।

तर त्यसपछि कुनै प्रतिक्रिया आएन। ग्राहकको मेसेज सिन नै भएको छैन । सेवामाण्डु प्रोफाइलमा दिइएको फोन नम्बर ९७६१७६८५७५ स्वीच अफ छ । हजार, दुई हजार रुपैयाँको लाभका लागि मानवीयता र पेशागत मूल्य मान्यतालाई लत्याउन पछि नपर्ने सेवामाण्डु अनलाईन सर्भिस जस्ता गैरजिम्मेवारहरुले अरु इमानदार अनलाइन सप्लायर्सलाई समेत बदनाम गरिरहेका छन् ।
लोकसारथिलाई सेवामाण्डुको यस्तो जवाफ
पीडित ग्राहकले लोकसारथिसँग गुनासो राखेपछि, लोकसारथिले सेवामाण्डु अनलाइनलाई अर्काे नम्बर 9805674055 मार्फत् सम्पर्क गर्याे । उताबाट सेवामाण्डुका एकजना कर्मचारी बोल्दै थिए । ग्राहकलाई डिफेक्टेड प्रोडक्ट पठाउनु भएको रहेछ । सामान फिर्ता गरिदिन्छौँ भनेर आश्वासन दिएको नौ दस दिनसम्म पनि अर्काे सामान पठाउनु भएन, यसमा तपाईँको प्रतिक्रिया के छ भनी कुरा राख्दा ‘‘हामीले सामान पठाउन सक्दैनौँ, पहिला ग्राहकलाई त्यो सामान कुरियर गरेर पठाउन भन्नुस् । हामीले पठाएको सामान हो कि होइन पहिला भेरिफाइ गर्छाैँ अनि सामान एक्सचेन्ज गरिदिन्छौँ ।’’ भन्ने जवाफ आयो ।
अर्डर लिँदा सजिलो, फिर्ता गर्नुपर्दा झन्झटिलो
सामाजिक सञ्जालबाट प्राप्त भएको फोन नम्बर र लोकेशनकै भरमा सामान पठाइदिइहाल्ने तर फिर्ता गर्नुपर्दा त्यही सामानको चेकजाँच नभएसम्म एक्सचेन्ज नगरिदिने झन्झटिलो प्रक्रिया अवलम्बन गर्ने कुराले व्यावसायिक इमानदारितामाथि प्रश्न खडा गरेको छ । यही कुरा ग्राहकलाई पहिलै भनिदिनुपर्थ्यो तर ग्राहकको उपभोक्ता अधिकारलाई उपेक्षा गरियो । जुन सामाजिक सञ्जाल मेसेन्जर बक्सबाट सेवामाण्डुले अर्डर लियो त्यसमा ग्राहकको पछिल्लो मेसेज सिन नै भएको छैन । सामान फिर्ता गर्न नपरोस् भन्नका लागि नियतवश झन्झटिलो प्रक्रियालाई बहाना बनाएको देखिन्छ ।
झुटो जानकारी दिई भ्रम सिर्जना
गत मंगलबार (माघ २२) सेवामाण्डुले ग्राहकलाई झुटो जानकारी दिई भ्रमसमेत फैलाएको छ । एक्सचेन्जका लागि पठाएको सामान कहाँ पुग्यो सिस्टममा हेरेर भन्छु है भन्छ । त्यो सामान बाटोमै छ सर । हिँजै पठाएको हो । हजुरको सामान पुगेसी हजुरलाई कल आउँछ पनि भन्यो तर आज २५ गतेसम्म पनि सामानको अत्तोपत्तो छैन । सेवामाण्डुका कर्मचारीसमेत दुई दिनदेखि अर्डर लिएको सामाजिक सञ्जालमा ग्राहकसँग अपडेट छैनन् ।

काठमाडौँ प्रहरी परिसरको यस्तो आयो सुझाव
त्यसको लागि तपाईले नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनुहोस् । नजिकको प्रहरी कार्यालय मार्फत् हाम्रो सम्पर्कमा ल्याउनुहोस् । के हो, कहाँको हो, हामी बुझ्छौँ । प्रोसेसिङ त्यहीँबाट गर्नुपर्छ । दिनमा हजारौँ केस भइरहा छ यस्तो । त्यही भएर नजिकको प्रहरी कार्यालयले डिटेल लिन्छ, प्रमाण लिन्छ अनि त्यसलाई प्रहरीमा च्यानलाइज गर्छ । साइबर ब्युरोमा दिनुपर्ने केस हो कि ? सामाजिक सञ्जालमा ठगेको केस जिल्लालेभन्दा साइबर ब्युरोले हेर्छ । कुनै हामीले हेर्ने प्रकृतिको हुन्छ । त्यहाँ (नजिकको प्रहरी कार्यालय) जानुभुयो भने इक्ज्याट भएको के हो सुझाव पाउनुहुन्छ । त्यो अनुसार अगाडि बढौँ न, अनि त्यसपछि यहाँबाट गर्नुपर्ने हो भने हामीले प्रोसेसिङ गर्छाैँ ।
ठगीविरुद्ध कानुनी प्रक्रिया
यस्ता घटनाहरू रोक्न र उपभोक्ताको अधिकार सुरक्षित गर्न स्थानीय, प्रदेश, र संघीय सरकारका तीनवटै तहले निम्न उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ ।
अनलाइन कारोबारको कडा नियमनः अनलाइन व्यापारका लागि अनिवार्य दर्ता प्रक्रिया लागू गर्नुपर्छ।
गुनासो व्यवस्थापन प्रणालीः उपभोक्ता गुनासो छिटो सम्बोधन गर्न हेल्पलाइन र अनलाइन प्लेटफर्महरू उपलब्ध गराउनुपर्छ।
कानुनी सजाय कडा बनाउनेः फ्रड सप्लायर्सविरुद्ध छिटो छिनोफानो हुने कानुनी प्रक्रिया र जरिवाना कडा बनाइनु पर्छ।
जनचेतना अभिवृद्धिः अनलाइन कारोबार गर्दा सावधानी अपनाउनेबारे नियमित जनचेतनामूलक अभियान सञ्चालन गर्नु आवश्यक छ।
उपभोक्तालाई सन्देश
अनलाइन सामान अर्डर गर्दा कम्पनीको वास्तविकता जाँच गर्नुहोस्। पेजको रिभ्यु र ग्राहक प्रतिक्रिया पढ्नुहोस्। अज्ञात स्रोतबाट महँगो सामान खरिद नगर्नुहोस्। ठगी परेमा नजिकको उपभोक्ता अधिकार संरक्षण कार्यालय वा प्रहरीमा उजुरी गर्नुहोस्।
अनलाइनको सहजतासँगै उच्च सतर्कता अपनाउनुपर्ने अहिलेको आवश्यकता हो। सेवामाण्डु जस्ता फ्रड सप्लायर्सलाई रोक्न उपभोक्ताको सजगता र कानुनी प्रक्रियाको कडाइ अपरिहार्य बनेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
