logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणः एक जना पक्राउ, अनुसन्धान जारी

नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणः एक जना पक्राउ, अनुसन्धान जारी


  • मंगलबार, फाल्गुन ६ २०८१
  • 845
    SHARES

    भारत, ओडिसा – भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा एक जना पक्राउ परेका छन्। स्थानीय प्रहरीका अनुसार सोही कलेजका छात्र अदविक श्रीवास्तवलाई आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ गरी न्यायिक हिरासतमा पठाइएको छ।

    भुवनेश्वरस्थित प्रहरी कमिसनरको सचिवालयले जारी गरेको जानकारी अनुसार श्रीवास्तव प्रकृति लम्सालका साथी थिए। प्रहरीले उनलाई हिरासतमा राखी अनुसन्धान थालिसकेको छ भने उनको साथबाट मोबाइल पनि बरामद गरिएको छ। साथै, मृतक प्रकृतिको मोबाइल र ल्यापटपसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। गत आइतबार प्रकृति लम्साल मृत अवस्थामा फेला परेकी थिइन्।

    यसैबीच, कलिंग इन्स्टिच्युटका नेपाली विद्यार्थीमाथि कुटपिट गर्ने दुई जना सुरक्षा गार्डलाई पनि प्रहरीले पक्राउ गरेको छ। भारतीय प्रहरीका अनुसार पक्राउ पर्नेमा ४५ वर्षीय रमाकान्त नायक र २५ वर्षीय जोगेन्द्र बेहेरा रहेका छन्। नेपाली विद्यार्थीमाथि सुरक्षागार्डहरूले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरी अनुसन्धान अघि बढाइएको थियो।

    काठमाडौंस्थित भारतीय दूतावासले भुवनेश्वर प्रहरी कमिसनर कार्यालयको विज्ञप्ति सार्वजनिक गर्दै घटनाका दोषीहरूलाई कानुनी कारबाही गरिने प्रतिबद्धता जनाएको छ। साथै, किट इन्स्टिच्युटमा अध्ययनरत नेपाली विद्यार्थीहरू सहित सम्पूर्ण विद्यार्थीहरूको सुरक्षाका लागि कडा सुरक्षा व्यवस्था मिलाइने भारतीय प्रहरीले जनाएको छ।

    प्रकाशित : मंगलबार, ६ फाल्गुन २०८१ , ०३:३९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend