logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

विवाहको भोजमा विवाद: कुटपिटबाट युवकको मृत्यु, तीन जना पक्राउ

विवाहको भोजमा विवाद: कुटपिटबाट युवकको मृत्यु, तीन जना पक्राउ


  • शनिबार, फाल्गुन १० २०८१
  • 403
    SHARES

    बाजुराको बूढीगंगा नगरपालिका–८ मा विवाहको भोज खाने क्रममा कुटपिट भएपछि २७ वर्षीय रणबहादुर थापाको मृत्यु भएको छ। कुटपिटकै कारण ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानपछि परिवारले कर्तव्य ज्यान मुद्दा दर्ता गराएका छन्।

    थापा बूढीगंगा नगरपालिका–९ का बासिन्दा हुन्। उनी छिमेकी वडाका आफन्तको छोराको बिहेमा भोज खान गएका थिए। भोजकै क्रममा विवाद भएपछि उनीमाथि कुटपिट भएको थियो। गम्भीर घाइते भएका थापाको अछामको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

    घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बूढीगंगा नगरपालिका–७ का २२ वर्षीय दीर्घ विष्ट, २७ वर्षीय लोकेन्द्र खड्का र २५ वर्षीय खेमराज विष्टलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप गिरीका अनुसार खड्कालाई साफेबगरबाट, भने अन्य दुई जनालाई गाउँमै लुकेको अवस्थामा पक्राउ गरिएको हो।

    मादक पदार्थ सेवनपछि विवाद

    प्रहरीका अनुसार बिहेको भोजमा मादक पदार्थ सेवन गरेपछि विवाद भएको थियो। राति ११ बजेपछि उनीहरूबीच विवाद हुँदा थापालाई तीन जनाले एकोहोरो कुटपिट गरेका थिए। प्रत्यक्षदर्शीका अनुसार घटनाअघि कुनै पुरानो विवाद नभए पनि मदिराका कारण इगो बढेपछि झगडा सुरु भएको थियो।

    पक्राउ परेका दीर्घ विष्टले ‘सबैले आफूलाई दाइ भन्नुपर्छ’ भन्ने निहुँ निकालेर विवाद सुरु भएको प्रहरीको भनाइ छ। यही क्रममा झगडा चर्किएर थापामाथि कुटपिट भएको थियो।

    थापाको शव जिल्ला अस्पताल मार्तडीमा परीक्षणका लागि राखिएको छ भने तीनै जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    प्रकाशित : शनिबार, १० फाल्गुन २०८१ , १२:५१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend