logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

रवि लामिछानेको आदेशमा त्रुटि भएपछि सर्वोच्चले आइतबार राख्यो पेसी

रवि लामिछानेको आदेशमा त्रुटि भएपछि सर्वोच्चले आइतबार राख्यो पेसी


  • आइतबार, जेष्ठ ११ २०८२
  • 923
    SHARES

    – लोकसारथि संवाददाता।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीसम्बन्धी बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतले दिएको आदेशमा त्रुटि देखिएपछि आइतबारका लागि पुनः पेसी तोकिएको छ ।

    शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले रवि लामिछाने र छविलाल जोशीलाई थुनामै राख्ने आदेश दिएको थियो । दुबै जना हाल रूपन्देहीको जिल्ला कारागारमा रहेका छन् र थुनाबाट रिहा हुन माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

    तर सो आदेशमा ‘फैसला’ शब्द प्रयोग गरिएको देखिएपछि त्रुटि सच्याउन आइतबारका लागि विशेष पेसी राखिएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

    उनका अनुसार, आदेशको शीर्षकमा न्यायाधीशहरूको नामपछि “फैसला” उल्लेख हुन नहुनेमा त्यसैलाई “आदेश” बनाउने गरी इजलास अधिकृतले प्रतिवेदन पेश गरेका थिए । सोही प्रतिवेदनको आधारमा आदेश सच्याउनका लागि आइतबार पेसी चढाइएको हो ।

    सर्वोच्च अदालतले यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश सदर गर्दै रास्वपा सभापति रविलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । बुटवल इजलासले चैत २२ गते रविलाई थुनामा पठाउने आदेश दिएको थियो ।

    अब मुद्दाको अन्तिम किनारा नलागेसम्म रवि लामिछाने थुनामै बस्नुपर्नेछ, र त्यसपछिको निर्णय अदालतको अन्तिम आदेशअनुसार हुने अदालतले स्पष्ट पारेको छ ।

    यस घटनाले न्यायिक प्रक्रियामा सानोतिनो देखिने त्रुटिले समेत कानुनी हैसियतमा असर पार्न सक्ने देखाएको छ भने सार्वजनिक सरोकारका मुद्दामा सावधानीपूर्वक आदेश सम्पादन गर्नु आवश्यक रहेको सन्देश दिएको छ ।

    प्रकाशित : आइतबार, ११ जेष्ठ २०८२ , ०२:२५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend