logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

धनगढीमा युवकको कुटपिटपछि हत्या, दुई पक्राउ, अन्य दुई फरार

धनगढीमा युवकको कुटपिटपछि हत्या, दुई पक्राउ, अन्य दुई फरार


  • बुधबार, जेष्ठ २७ २०८३
  • 702
    SHARES

    लोकसारथि संवाददाता, धनगढी ।

    कैलालीको धनगढीमा एक युवकको कुटपिट गरी हत्या गरिएको घटना सार्वजनिक भएको छ। धनगढी उपमहानगरपालिका–९ स्थित त्रिवेणी घाट नजिक मोहना नदी किनारमा बेवारिसे अवस्थामा फेला परेको शवको पहिचान खुलेपछि घटनाको रहस्य बाहिर आएको हो।

    प्रहरीका अनुसार जेठ २४ गते नाम, थर र वतन नखुलेको अवस्थामा फेला परेको शव कैलारी गाउँपालिका–९ गदरियाका २० वर्षीय राजकुमार रानाको रहेको पुष्टि भएको छ। प्रारम्भिक अनुसन्धानमा शव बेवारिसे देखिए पनि थप अनुसन्धानका क्रममा उनको स्वाभाविक मृत्यु नभई हत्या भएको तथ्य खुलेको प्रहरीले जनाएको छ।

    अनुसन्धानका क्रममा धनगढी उपमहानगरपालिका–८ निवासी ६० वर्षीय बम्मन राना र ५८ वर्षीया भँगु रानासहित चार जनाको समूहले राजकुमार रानामाथि कुटपिट गरी हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ। हत्या गरेपछि घटनाको प्रमाण लुकाउने उद्देश्यले शवलाई मोहना नदी किनारमा फालिएको अनुसन्धानबाट खुलेको छ।

    घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बम्मन राना र भँगु रानालाई पक्राउ गरेको छ। उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    यस्तै, घटनामा संलग्न रहेको आरोप लागेका अन्य दुई जना हाल फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र रूपमा अघि बढाइएको प्रहरीको भनाइ छ।

    घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    प्रकाशित : बुधबार, २७ जेष्ठ २०८३ , ११:०९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend