– लोकसारथि संवाददाता, काठमाडौं ।
पूर्वउद्योगमन्त्री, नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा समाजवादी चिन्तक ढुण्डीराज शास्त्री (पौडेल) को ९० वर्षको उमेरमा आज बिहान निधन भएको छ। काठमाडौंको केएमसी अस्पतालमा उपचारको क्रममा बिहान ४ बजेतिर उनले अन्तिम सास लिएका हुन्।
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–८, निमडाँडामा वि.सं. १९९३ सालमा बुवा खेमराज पौडेल र आमा साबित्रा पौडेलको जेठो सन्तानका रूपमा जन्मिएका शास्त्री लामो समयदेखि राजनीतिमा सक्रिय थिए। बनारसमा २०१० सालतिर अध्ययन गर्दै गर्दा उनी नेपाली कांग्रेससँग आवद्ध भएका थिए।
पढाइ सकेर फर्किएपछि भूमिगत रूपमै पार्टीको संगठन विस्तारमा लागेका शास्त्रीले २०१४ सालको भद्र अवज्ञा आन्दोलनमा अर्घाखाँची जिल्लाको नेतृत्व गर्दै पाल्पा तानसेनसम्म पुगेका थिए। २०१५ सालको आमनिर्वाचनमा सक्रिय भूमिका खेलेका उनी २०१७ सालमा राजा महेन्द्रले संसद् विघटन गरेर नेताहरूलाई गिरफ्तार गरेपछि क्रान्तिमा युवाहरूलाई समावेश गराउने महत्त्वपूर्ण जिम्मेवारीमा थिए।
बीपी कोइरालाका निष्ठावान अनुयायी रहेका शास्त्री समाजवादका सिद्धान्तकारका रूपमा पनि चिनिन्छन्। उनले अर्घाखाँची, गुल्मी लगायतका जिल्लाहरूमा कांग्रेसको संगठन विस्तारमा महत्त्वपूर्ण योगदान दिएका थिए। २०३६ साल र २०४६ सालका जनआन्दोलनमा पनि उनको अग्रणी भूमिका रह्यो।
२०४८ सालको आम निर्वाचनमा अर्घाखाँची क्षेत्र नं. २ बाट भारी मतले विजयी भई उनी तत्कालीन सरकारमा उद्योग मन्त्री बनेका थिए।
स्व. शास्त्रीका श्रीमती, दुई छोरा र दुई छोरी छन्। उनका छोराहरू विदेशमा रहेका कारण उनीहरू फर्किएपछि अन्तिम संस्कार गरिने परिवारका अशोक पौडेलले जानकारी दिएका छन्।
नेपालको लोकतान्त्रिक आन्दोलनमा अमूल्य योगदान पुर्याएका ढुण्डीराज शास्त्रीको निधनले नेपाली राजनीति र समाजवादी चिन्तनमा अपूरणीय क्षति भएको कांग्रेस नेताहरूले बताएका छन्।