logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

रुकुम पश्चिममा भीषण जीप दुर्घटना : ८ जनाको मृत्यु, १० जना घाइते

रुकुम पश्चिममा भीषण जीप दुर्घटना : ८ जनाको मृत्यु, १० जना घाइते


  • शनिबार, कार्तिक ८ २०८२
  • 1.3K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    तिहार बिदाको अन्तिम दिन शुक्रबार रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–७ झारमारे नजिकै बुराउसेनीमा भएको जीप दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

    कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार रा.१.ज. ४२२ नम्बरको जिप लिस्नेको उकालो चढ्दै गर्दा मुख्य पट्टा भाँचिएपछि ब्याक भएर सात सय मिटर तल खसेको हो।

    सिट पाँच, सवार २० भन्दा बढी

    पाँच जनाको सिट क्षमता भएको जिपमा २० जना भन्दा बढी यात्रु थिए।
    जिपको छतमा रहेका केही यात्रु हामफालेर ज्यान जोगाउन सफल भए, तर पछाडि बसेका र भित्र रहेका आठ जनाको घटनास्थलमै मृत्यु भयो।

    मृत्यु हुनेहरूमा —

    • बाँफीकोट–१ की सबिता विक (२८ वर्ष)

    • आठबिसकोट–३ स्यालाकी कमला वली (३० वर्ष)

    • आठबिसकोट–१ का टेकजंग बुढा (१६ वर्ष)

    • आठबिसकोट–१ की दिलमाया बुढा (१५ वर्ष)

    • आठबिसकोट–२ की मनिका वली (१७ वर्ष)

    • आठबिसकोट–२ की शर्मिला विक (१८ वर्ष)

    • आठबिसकोट–२ का गोपाल वली (२२ वर्ष)

    • आठबिसकोट–१ की कल्पना नेपाल (१५ वर्ष)
      रहेका छन्।

    गम्भीर घाइते नेपालगञ्ज पठाइयो

    दुर्घटनामा घाइते १० जनामध्ये गम्भीर घाइते आठबिसकोट–१ की जुना बुढा (१८ वर्ष) लाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
    अन्य घाइतेहरूको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ।

    तिहार अवधिभर कर्णालीमा २९ दुर्घटना

    कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार तिहारको सात दिनमा २९ वटा सवारी दुर्घटना भएका छन्।
    तीमध्ये सबैभन्दा बढी क्षति रुकुम पश्चिममा भएको हो।

    सुर्खेतमा १२ दुर्घटनामा दुई जनाको मृत्यु र १२ जना गम्भीर घाइते भएका छन्।
    रुकुम पश्चिम र सुर्खेतबाहेक कर्णालीका अन्य आठ जिल्लामा भने यस अवधिमा कसैको मृत्यु भएको छैन।

    अन्य जिल्लाहरूमा स्थिति

    • सल्यान: ४ दुर्घटना, ५ जना गम्भीर घाइते

    • जाजरकोट: ४ दुर्घटना, ६ जना घाइते

    • दैलेख: ४ दुर्घटना, २ जना गम्भीर घाइते

    • जुम्ला, मुगु, डोल्पा, हुम्ला: दुर्घटना शून्य

    ३७५ सवारीसाधन कारवाहीमा

    प्रदेशभर ३७५ सवारीसाधन कारवाहीमा परेका छन्।

    • सुर्खेत: १२१

    • रुकुम पश्चिम: ६६

    • सल्यान: ६२

    • दैलेख: ६०

    • जाजरकोट: २४

    • कालिकोट: ७

    • डोल्पा: १८

    • जुम्ला: ११

    • मुगु: ४

    • हुम्ला: २

    यी कारवाहीबाट ३ लाख ३२ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको प्रहरी कार्यालयले जनाएको छ।

    लागूऔषध र मापसे नियन्त्रणमा पनि कडाइ

    तिहार अवधिमा २५ जना लागूऔषध तथा मादक पदार्थ सेवन (मापसे) सम्बन्धी अभियोगमा कारवाहीमा परे।
    त्यसैगरी जुवातास खेल्ने नौ जना पक्राउ,
    र घारिलो हतियार प्रहारबाट सुर्खेतमा तीन र जाजरकोटमा एक जना घाइते भएको प्रहरीले जनाएको छ।

    प्रहरीले उत्सव तथा पर्वका समयमा सवारीसाधनको क्षमता भन्दा बढी यात्रु नचढाउने र सावधानीपूर्वक यात्रा गर्न सबै नागरिकलाई आग्रह गरेको छ।

    प्रकाशित : शनिबार, ८ कार्तिक २०८२ , ०६:०० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend