logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

दुर्गा प्रसाईंले मङ्सिर ७ गतेदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा

दुर्गा प्रसाईंले मङ्सिर ७ गतेदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा


  • बुधबार, कार्तिक १२ २०८२
  • 507
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले व्यवस्था परिवर्तनको मागसहित मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन्।

    बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँग भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले आन्दोलन पूर्णतः शान्तिपूर्ण हुने स्पष्ट पारे। उनका अनुसार यो आन्दोलन बन्दुक वा बारुदका माध्यमबाट होइन, विचार, चेतना र जनसमर्थनका आधारमा सञ्चालन हुनेछ।

    “सिंहदरबारमा आगो लगाउने वा जनताको सम्पत्ति तोडफोड गर्ने आन्दोलन होइन यो,” प्रसाईंले भने, “यो शान्तिपूर्ण रूपमा व्यवस्था परिवर्तनको अभियान हो।”

    उनका अनुसार मङ्सिर ७ गतेदेखि सुरु हुने अभियान पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, १४ अञ्चल, ७५ जिल्ला र १६५ निर्वाचन क्षेत्रमा एकसाथ सञ्चालन हुनेछ। प्रसाईंले मङ्सिर ७ गतेलाई ऐतिहासिक दिनका रूपमा स्मरण गर्दै भने, “यही दिन दिल्लीमा दलहरू र विद्रोही माओवादीबीच १२ बुँदे सम्झौता भएको थियो, जसले राजसंस्था र हिन्दु अधिराज्य समाप्त गर्‍यो र देश विदेशी प्रभावमा फस्यो।”

    प्रसाईंले पशुपति र माता दुर्गाको संरक्षण, विदेशी पलायनमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउने तथा राष्ट्रिय स्वाभिमान पुनःस्थापना गर्ने लक्ष्यसहित आन्दोलन अघि बढाइने बताए। उनले सबै नागरिकलाई मङ्सिर ७ गतेको आन्दोलनका लागि तयारी गर्न आह्वान गर्दै भने, “अब व्यवस्था परिवर्तन नभए देशको अवस्था सुधार हुँदैन।”

    उनले नागरिकहरूलाई आगामी २० दिनभित्र आवश्यक इन्धन, ग्यास र दैनिक उपभोग्य सामग्री संकलन गर्न सुझाव दिएका छन्। साथै, आन्दोलनको औपचारिक जानकारी मानव अधिकार आयोगलाई गराइसकिएको जानकारी पनि दिए।

    प्रसाईंले सरकार वार्ताका लागि तयार रहेको र आफूलाई गिरफ्तार गर्ने चर्चा भए पनि भाग्ने कुनै मनसाय नरहेको स्पष्ट पारे। उनका अनुसार, मानव अधिकार आयोगका अध्यक्ष मगरले समेत भनेका छन्, “तपाईंले उठाउनुपर्ने कुरा त हामीले उठाउनुपर्ने हो, दुर्गाजी।”

    अन्त्यमा, प्रसाईंले पत्रकार, मानव अधिकारकर्मी, सरकारी कर्मचारी र विदेशमा रहेका नेपालीहरूलाई समेत मङ्सिर ७ गते सुरु हुने आन्दोलनमा साथ दिन आह्वान गरे।

    प्रकाशित : बुधबार, १२ कार्तिक २०८२ , ०२:५४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend