लोकसारथि संवाददाता, काठमाडौं ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध चर्किएको जेनजेड (Gen Z) आन्दोलन अझै हिंसात्मक बन्दै गएको छ। सोमबार दिउँसो साढे ३ बजेसम्मको विवरणअनुसार उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ।
अस्पतालवार मृतक संख्या
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार मृत्यु भएका १३ जनामध्ये :
-
ट्रमा सेन्टर : ६
-
सिभिल अस्पताल : २
-
काठमाडौँ मेडिकल कलेज (KMC) : १
-
त्रिवि शिक्षण अस्पताल : १
-
एभरेस्ट अस्पताल : ३
घाइतेहरूको यकिन विवरण भने प्राप्त भएको छैन। तर, अस्पताल स्रोतका अनुसार सयौं घाइते भइसकेका छन्, जसमा कैयौंको अवस्था गम्भीर रहेको बताइन्छ।
भिडन्त र हिंसक झडप
आन्दोलनकारीले संसद भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले लाठीचार्ज, अश्रुग्यास र गोली प्रयोग गरेको थियो। त्यसपश्चात् राजधानीका विभिन्न स्थानमा सुरक्षा निकाय र प्रदर्शनकारीबीच भीषण झडप भएको हो। प्रदर्शनकारीहरू केही स्थानमा सुरक्षापोष्टमा चढेर झण्डा फहराएका थिए भने, सुरक्षाकर्मीहरूले वारम्बार बल प्रयोग गरेर तितरबितर गर्ने प्रयास गरेका थिए।
अवस्था नियन्त्रणबाहिर
काठमाडौं उपत्यकामा दिउँसो १२ बजेदेखि राति १० बजेसम्म कर्फ्यू जारी गरिएको छ। तर, कर्फ्यूको अवज्ञा गर्दै युवाहरू निरन्तर सडकमा छन्। सरकारको आदेशपछि सेना समेत परिचालन भइसकेको छ।
आन्दोलनको पृष्ठभूमि
जेनजेड भनिने नयाँ पुस्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्धसँगै, देशमा व्याप्त भ्रष्टाचार, बेथिति र नेताहरूको विलासी जीवनशैलीविरुद्ध आन्दोलन सुरु गरेका हुन्। काठमाडौँमा सुरु भएको आन्दोलन अहिले पोखरालगायत अन्य शहरहरूमा समेत फैलिइसकेको छ।
चिन्ता र आशंका
स्वास्थ्य निकाय र नागरिक समाजले मृतक र घाइतेको बढ्दो संख्या गम्भीर चिन्ता उत्पन्न गराएको बताएका छन्। आगामी दिनमा आन्दोलन अझ व्यापक बन्दै गए थप मानवीय क्षति हुने आशंका गरिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
