logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सम्पादकीय: आत्मभित्रको लक्ष्मी, कृत्रिम उज्यालोबीच हराएको चेतनाको दीप बाल्ने दिन हो, लक्ष्मी पूजा

सम्पादकीय: आत्मभित्रको लक्ष्मी, कृत्रिम उज्यालोबीच हराएको चेतनाको दीप बाल्ने दिन हो, लक्ष्मी पूजा


  • सोमबार, कार्तिक ३ २०८२
  • 871
    SHARES

    सम्पादकीय

    हरियो गोबरले लिपिएको आँगन, केराका थम्बाले बनाइएको द्वार, बाँसका स–साना टेकोमा टाँगिएका दीया, सेल रोटीको सुवास, अर्सा–अनर्साको मिठास, र पटाकाको गडगडाहट—यिनै दृश्यहरूले नेपालको परम्परागत तिहारको आत्मा बोकेका छन्। तर आज ती सबै दृश्यहरू केवल स्मृतिका बत्ती बनेर बालिँदै छन्। गोबर पाइन छोड्यो, गाई हराउँदै गए, अनि तिनैका साथ हरायो आत्मीयता र प्राकृतिक सन्तुलनको संस्कार।

    यान्त्रिकीकरणको युगमा मानिसले प्रकृतिको अनुशासन भन्दा प्रविधिको स्वार्थ चुनेको छ—जसले मनुष्यलाई सुविधायुक्त त बनायो, तर शान्तिबिहीन अवस्थामा पुर्‍यायो । जीवन अब सहज नभएर ‘सिस्टम’ बनेको छ। सबैकुरा औपचारिक छन्—दायित्वबोध होइन, कारोबार बनेका छन्। दिएमा मासिन्छ, लिएमा सुविधा बढ्छ भन्ने सिद्धान्तले नै समाजको आत्मा मापन भइरहेको छ।

    यन्त्रमा बाँधिएको मन र कृत्रिम लक्ष्मी

    आजको समाजमा ‘लक्ष्मी’को अर्थ रुपैयाँ, तामझाम, ब्रान्डेड वस्त्र र सुनचाँदीको थुप्रोमा सीमित भएको छ। बाहिर बत्ती बालिन्छ, तर आत्माको अँध्यारो कोठा कामवासनाको बन्धक रहन्छ।  बिजुलीका झिलिमिली बल्छन्, तर भित्रको चेतनाको दीप मरेको छ। लक्ष्मी पूजा अब श्रद्धाभन्दा प्रदर्शन बढी भएको छ—जसको मूल सूत्र उपभोक्तावादमा निहित छ।

    तर वैदिक दृष्टिकोणले लक्ष्मी धनकी देवी मात्र होइनिन्, दिव्य चेतनाको अभिव्यक्ति हुन्। जहाँ शान्ति, प्रेम, भक्ति, ध्यान, शुचिता, सन्तुष्टि र भगवद् कृपा छ, त्यहीँ लक्ष्मीको वास हुन्छ। जसका घरमा दिव्यता बस्छ, त्यहाँ समृद्धि स्वतः प्रवाहित हुन्छ।

    लक्ष्मी पूजाको आध्यात्मिक अर्थ

    लक्ष्मी पूजाको दिन आज । यसको मूल अर्थ हो आफुभित्र सुसुप्त अवस्थामा रहेका प्रेम, भक्ति, शान्ति, पवित्रता, अप्रतिम दिव्यता र भगवद कृपालाई सक्रिय अवस्थामा रुपान्तरण गर्नु । अरुको भर परेर यो कार्य सम्भव छैन । व्यक्तिको आफ्नै पुरुषार्थ चाहिन्छ । यही पुरुषार्थ गर्ने दिनका रुपमा स्थापित छ लक्ष्मी पूजा ।

    यसका लागि आहार, विचार, संस्कार, आचार सबै शुद्ध हुनु आवश्यक छ। आहारको सात्विकता बिना विचार, आचार र संस्कार सबै विकृत बन्छन्। जसरी गोबरले लिपिएको आँगनले शुद्धता र पवित्रताको आभा दिन्छ, त्यस्तै मनलाई पनि शुद्ध विचारले लिप्न आवश्यक छ। लक्ष्मी केवल सुवर्ण र रत्नको देवी होइनिन्, उनी शुद्ध चित्त, शुद्ध आहार, र शुद्ध आचरणमा बस्ने चेतनाको रूप हुन्।

    आत्म–मन्थनबाट उत्पन्न हुने लक्ष्मी

    पौराणिक कथामा लक्ष्मी समुद्र मन्थनबाट प्रकट भएकी हुन्। यो कथा बाहिरी समुद्रको होइन, मानवचेतनाको समुद्र मन्थनको प्रतीक हो। जब मानिसले आफ्नो अन्तर्मनका लोभ, क्रोध, मोह र अहंकारको मन्थन गर्छ, तब त्यसैबाट आत्मिक लक्ष्मी—प्रेम, भक्ति, शान्ति र सन्तुष्टि—प्रकट हुन्छ।

    यसर्थ, लक्ष्मी पूजाको साँचो भावनात्मक अभ्यास हो—स्वयंभित्र निदाएको चैतन्यलाई जागृत गर्ने प्रयास। बत्ती बाल्नु प्रतीक हो—बाहिरी अन्धकार होइन, भित्रको अन्धकार पगाल्ने।

    भौतिकता बनाम आध्यात्मिकता

    हीरा, मोती, सुनचाँदी र पैसाको आकर्षण क्षणभङ्गुर हो।
    तर आत्मिक शान्ति, भक्ति, ध्यान, पवित्रता र भगवद् कृपा—यी नै शाश्वत धन हुन्।
    भौतिक संसार मायाकृत भ्रमको रमाइलो तस्वीर हो—अर्काको सामु देखिने तर आफैँभित्र खालीपन छोड्ने।

    हिमालयका सन्तहरूले हजारौँ वर्षदेखि अन्न–जल बिना तपस्यामा जीवन बिताइरहेका छन्। उनीहरूको समृद्धि बाहिरबाट आएको होइन, आत्म–प्रकाशबाट सक्रिय भएको हो। त्यो नै लक्ष्मीको साँचो रूप हो—बाह्य चाँदी होइन, भित्री चेतनाको सुन।

    लक्ष्मीको स्थायी वास कसरी सम्भव छ ?

    लक्ष्मी पूजाले सिकाउँछ—साँचो धन आत्मभित्रै छ।
    प्रेम, भक्ति, ध्यान, सन्तुष्टि, शुचिता र समर्पण नै लक्ष्मीका रूप हुन्।
    यी गुणहरू जागे भने लक्ष्मी बाहिर पनि बस्छिन्, हृदयमा पनि।

    तर अहंकार, लोभ, काम र क्रोधको अन्धकारमा यी गुणहरू हराउँछन्।
    त्यसैले लक्ष्मी पूजाको दिन केवल घर लिप्ने होइन, मन लिप्ने,
    केरा र दियोको सजावट मात्र होइन, हृदयमा उज्यालो बाल्ने,
    नैवेद्य अर्पण मात्र होइन, समर्पणको जागरण गर्ने दिन हो।

    आजको युगमा प्रविधिले सब कुरा सजिलो बनाएको छ, तर हृदय कठिन बनाएको छ।
    मानव अब उपकरणमा निर्भर छ—मनुष्यत्वमा होइन। आत्मीयता हराएको छ, कर्तव्यपरायणता क्षीण छ।
    अब आवश्यक छ—आत्मा र विज्ञानबीच सन्तुलन खोज्ने साहस।
    किनकि लक्ष्मी केवल बाहिरको झिलिमिलीमा होइन, आत्माको मौन उज्यालोमा बस्छिन्।

    यही आत्म–लक्ष्मीको आराधना हो—आजको लक्ष्मी पूजाको साँचो अर्थ।

    प्रकाशित : सोमबार, ३ कार्तिक २०८२ , ०९:०१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend